धरान । भारतीय आयल कर्पोरेसनले पेट्रोल र ग्याँसको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य सूचीअनुसार ग्याँस र पेट्रोलको मूल्य घटाएर पठाएको हो ।

नयाँ मूल्य सूचीअनुसार ग्याँसको मूल्य प्रतिसिलिन्डर एक सय ६० रुपैयाँले घटेर आएको छ । त्यस्तै पेट्रोलको १४ पैसाले घटेको हो । यता डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ १६ पैसाले बढेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

त्यस्तै हवाई इन्धनको मूल्य पनि ५७ पैसाले बढेको छ । मट्टितेलको मूल्य ५ पैसाले बढेको उनले जानकारी दिए । भारतको आइओसीले अङ्ग्रेजी क्यालेन्डरअनुसार हरेक महिनाको पन्ध्र दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । यसैबीच नेपाल आयल निगमले भारत आयल कर्पोरेसनलाई ऋण चुक्ता गरेको छ ।

निगमका प्रवक्ता ठाकुरका अनुसार आइओसीलाई २४ अर्ब रुपैयाँ तिर्न बाँकी रहेकोमा सबै रकम चुक्ता गरिएको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कको तीन अर्बसमेत तिरिएको उनले जानकारी दिए । तर, नेपाल सरकारको छ अर्ब तीस करोड रुपैयाँ भने तिर्न बाँकी रहेको छ । पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटीबापतको रकममध्ये एक अर्ब ९५ करोड रुपैयाँ पनि तिर्न बाँकी रहेको जनाइएको छ ।