पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकाका किसानले उत्पादन गरेकोे गोलभेँडाले बजार नपाएपछि फालेर बिरोध जनाएका छन ।

गाउँपालिकाले गोलभेँडा व्यवस्थापन गर्ने चिस्यान केन्द्र र बजारको उचित व्यवस्थापन नगरेको भन्दै बिरोध स्वरुप ३८ क्यारेट टमटर फालेका हुन । हिलिहाङ–२ र ४ का किसान उत्पादन गरेको टमटरले बजार नपाएपछि बिरोध स्वरुप फालेको कृषक केपी अधिकारीले जनाए ।

अधिकारी भन्छन् टमटर उत्पादक किसान सबै मिलेर पटक/पटक ध्यानाकर्षण गराउँदा पनि पालिकाले बजेटमा सम्बोधन नगरी बेवास्ता गरेपछि सडकमै फाल्नु परेको हो । एकातिर बजारको व्यवस्थापन छैन । अर्कोतिर टमटर प्रसोधन गर्ने चिस्यान केन्द्रको अभाव छ । यो सबै विषयमा पालिका बेखबर जस्तै बन्दा बाध्य भएर बिरोध गर्नु परेको हो ।

अहिले गाउँपालिकामा गोलभेँडा प्रतिकिलो ६ रुपैयाँमा बिक्री हुदै आएको छ । जिल्लाको हेँवाखोलाको पुल असार २ गतेदेखी बगाएपछि किसानले उत्पादन गरेको गोलभेँडा बजारसम्म पुग्न पाएको छैन । अर्कोतर्फ उत्पादन गरेको गोलभेँडाको भण्डार लागि उचित व्यवस्था नहुदा किसान आक्रोशित बनेका हुन् । 

यता गाउँपालिका अध्यक्ष समर अधिकारीले भने राष्ट्रिय विपत्तिका कारण यस्तो अवस्था सृर्जना भएको बताउँछन् । ‘यो विपत्ति सबैलाई परेको छ, यस्तो अवस्थामा नफालेको भए हुने थियो,’ अधिकारीले भने ।

पीडित किसानलाई बोलाएर किसानको मागको अधारमा के गर्न सकिन्छ । त्यो बिषयमा सोच्न सकिने उनको भनाइ छ । गाउँपालिकाले चिस्यान केन्द्रको विषयमा छलफल भएको र कुन ठाउँमा कति क्षमताको बनाउने भन्ने गृहकार्य भइरहेको अधिकारीको भनाइ छ ।