विजयपुर । कोशी प्रदेशमा असार १३ गतेसम्ममा १६ दशमलव ९६ प्रतिशत धान रोपाइँ भएको छ ।

गत वर्षभन्दा १ दशमलव शून्य ३ प्रतिशत न्यून रोपाइँ भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशकी बाली विकास अधिकृत एलिसा खड्काका अनुसार हालसम्म प्रदेशभरका १४ जिल्लामा १६ दशमलव ९६ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । उनका अनुसार वर्षा ढिलो भएकाले गत वर्षभन्दा केही कम रोपाइँ भएको हो । उनले भनिन्, ‘खडेरीका कारणले कम भएको हो ।’ 

कोशी प्रदेशका उच्च पहाडी तीन जिल्लामा २१ दशमलव ३६ प्रतिशत रोपाइँ भएको छ । आठ जिल्लामा १९ दशमलव ३४ प्रतिशत रोपाइँ भइसकेको हो । तराईका तीन जिल्लामा १६ दशमलव ९६ प्रतिशत रोपाइँ भएको छ ।

कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमध्ये ३ हजार २३२.६९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । सङ्खुवासभा जिल्लामा १३ हजार ८ सय ५१ हेक्टर क्षेत्रफलमध्ये १ हजार ३८५.१ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कुल क्षेत्रफलको १० प्रतिशत हो ।

सोलुखुम्बु जिल्लाको १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमध्ये ५२२.७५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । यो कुल क्षेत्रफलको ३५ प्रतिशत हो । पाँचथर जिल्लामा ३२ हजार हेक्टर क्षेत्रफलमध्ये ९ हजार २ सय ३ हेक्टरमा रोपाइँ भएको छ । यो कुल क्षेत्रको २५ प्रतिशत मात्रै हो । इलाम जिल्लामा १४ हजार ८ सय १५ हेक्टर क्षेत्रफलमध्ये २ हजार ९ सय ६३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । भोजपुर जिल्लाको १८ हजार ९२ हेक्टर क्षेत्रफलमध्ये ६ हजार २२१.६८ क्षेत्रफलमा रोपाइँ भएको छ । तेह्रथुम जिल्लाको १० हजार १ सय ७५ हेक्टरमध्ये २ हजार ५२.५ हेक्टरमा रोपाइँ भएको छ । धनकुटा जिल्लामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमध्ये ३९७.५ हेक्टर क्षेत्रफलमा रोपाइँ गरेको छ । उदयपुर जिल्लामा १३ हजार ३ सय ८० हेक्टरमध्ये ४०१.४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । ओखलढुङ्गा जिल्लामा ४ हजार ४४०.३ हेक्टरमा रोपाइँ भएको छ । खोटाङ जिल्लामा १२ हजार ८ सय ९८ हेक्टरमध्ये १ हजार ८०५.७२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । झापा जिल्लामा ८७ हजार हेक्टर ५ सय हेक्टर क्षेत्रफलमध्ये १५ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । मोरङ जिल्लामा ८३ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ८ हजार ३ सय ३० क्षेत्रफलमा रोपाइँ भएको जनाएको छ ।  सुनसरी जिल्लामा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये ११ हजार क्षेत्रफलमा रोपाइँ भएको  छ ।

कोशी प्रदेशको कुल ५७ हजार ८१४.५५ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेको प्रदेश कार्यालयले जनाएको छ । त्यसमध्ये ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा धान लगाउने गरिएको निर्देशनालयले जनाएको छ ।