तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले सिधुवा–शुक्रबारे सडक खण्डमा १० हजार विरुवा रोप्दै सडकबाटै बजेटको घोषणा गरेको हो ।
गाउँपालिकाले पहिलो पटक नौलो अभ्यास गर्दै सडकबाटै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाका बताए ।
पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र फुसको छानामुक्त पालिका घोषणा गर्ने नीति तथा कार्यक्रम छ । आर्थिक रुपमा विपन्न समुदायका नागरिकलाई लक्षित गर्दै विगत लामो समयदेखि फुसको छानो अन्त्य गर्न गाउँपालिकाले काम गर्दै आएको छ । अधिकांशश वडा सुख्खाक्षेत्र भएकाले वर्षाको पानी संकलन गर्न र आगलागीबाट जोखिम कम गर्न पालिकालाई फुसको छानो मुक्त पालिका घोषणा गर्न लागिएको अध्यक्ष तिलेलाको भनाइ छ ।
गाउँपालिकाले प्रत्येक घरमा पक्की शौचालय, सुधारिएको चुलोसहित आगनमा फुलबारी कार्यक्रम प्रवद्र्धन गर्ने, प्रत्येक घरघरमा शुद्ध खानेपानी प्रबन्धका लागि फिल्टर वितरण गर्ने, सबै वडादेखि पालिका केन्द्रसम्म नियमित सडक सुविधा पु¥याउने र सिंधुवा शुक्रबारे सडक फूल र विरूवाको सडक बनाउने र अन्य ग्रामीण सडक कालोपत्रे गर्ने कार्यक्रम समावेश गरिएको छ ।
पालिकाले अनाथ र असहाय नागरिकलाई खानासहित सुरक्षाको प्रबन्ध मिलाउने, लोकल रक्सीसँगै सबै स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने, गाउँपालिकाको छथर अस्पताल नयाँ भवनबाट संचालनमा ल्याउने, उपकरण थप्ने, ल्याब सेवा विस्तार गर्ने, टेलिफोन स्वास्थ्य सेवा लागू गर्ने, पालिकाभर जेष्ठ नागरिक, एकल महिला, अपाङगता, भएका, गर्भवती महिला, एकल पुरुष, सुत्केरीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।
कम्युटर नभएका सामुदायिक विद्यालयहरुमा इन्टरनेटसहित जडान गर्ने, स्थानीय पाठ्यपुस्तक तयार गर्ने, बालकक्षा बालमैत्री बनाउने, प्रअ तालिम, शिक्षक विषयगत तालिम, कक्षा १२ मा सीप तालिम, विद्यालयबाहिर रहेका गरिब विपन्न असहाय अपाङ्गता भएका बालबालिका शिक्षा लागू गर्ने पालिकाको नीति तथा कार्यक्रम छ । आगामी वर्षको नीति तथा कार्यक्रममा दीगो लक्ष्यको पहुँचमा पुग्न कृषि, पशु, रोजगार र खेलकुद क्षेत्रलाई प्राथमिकता दिने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।