सुनसरी । १४ महिनापछि भारतीय सहर पञ्जाबबाट स्वदेश फर्किएका इनरुवा नगरपालिका वडानम्बर ८ डुम्राहाका राजदेव मण्डल शनिबार भारतीय रुपैयाँ साट्न प्रयासरत रहेको अवस्था भेटिए । कोसी गाउँपालिका वडानम्बर ८ भण्टाबारी बजारमा उनले भारतीय रुपैयाँलाई नेपाली रुपैयाँसँग साट्ने प्रयास गरे पनि भारतीय रुपैयाँ साट्न सकेनन् । कामको सिलसिलामा भारत आवत–जावत गर्दा राजदेवले भारु र नेरु साट्ने बजार भण्टाबारी नै हो । तर, यसपटक भारतबाट नेपाल आउँदा उनले पसल–पसलमा धाउँदा पनि भारु साट्न सकेनन् ।

‘हाम्रो लागि भारु र नेरु साट्ने ठाउँ नै भण्टाबारी बजार हो, अन्य ठाउँमा कहाँ साट्छन् थाहा छैन’ राजदेवले भने, ‘पहिले भारु रुपैयाँ नै घर लिएर जान्थे, यसपटक गाउँमा भारु चल्दैन भनेर सुनेपछि बजारमै साट्ने प्रयास गरे, तर कसैले साट्न मानेनन्, साटे पनि धेरै कम दिने भनेपछि मैले साट्न मानिनँ ।’ ‘यसअघि भारतबाट फर्किदा भारु साट्नका लागि नेपाली व्यापारीले तँछाडमछाड गर्थे’ राजदेवले स्मरण गर्दै भने, ‘रिक्साबाट झर्ने बित्तिकै भारु छ भनेर सोध्थे, अहिले वास्तै गरेनन्, कममा साट्ने भनेपछि भारु नै लिएर घर जाने निष्कर्षमा पुगेँ ।’ केही महिना अगाडिसम्म सीमावर्ती क्षेत्रका बजारमा १ सय भारतीय रुपैयाँँ साट्न १ सय ६५ देखि १ सय ७० रुपैयाँसम्म नेपाली रुपैयाँ तिर्नुपथ्र्यो । वैध सटहीअनुसार १ सय भारु बराबर १ सय ६० रुपैयाँ हुने भए पनि भारतीय रुपैयाँ पाउन मुस्किल भएको भन्दै सटही दरभन्दा ५ देखि १० रुपैयाँँसम्म बढी लिने गथ्र्यो । तर, अहिले अवस्था बदलिएको छ, १ सय  भारु साट्न वैधरूपमा १ सय ६० तिर्नुपर्नेमा १ सय ५२ देखि १ सय ५५ रुपैयाँ तिर्न थालिएको छ । ‘४–५ महिना अघिसम्म भारु पाउन ५ देखि १० रुपैयाँ बट्टा तिर्नुपर्ने अवस्था थियो’ उद्योग वाणिज्य सङ्घ भण्टाबारीका पूर्व अध्यक्ष रघुनाथ देवले भने, ‘हिजोआज भने भारु दिएर नेपाली रुपैयाँ लिनेहरूले नै उल्टै बट्टा (कमिसन) दिइरहेको अवस्था छ ।’

सीमावर्ती क्षेत्रमा हुने मुद्रा सटहीमा भारतीय रुपैयाँँको अवमूल्यन भइरहेकोे बेला भारु लिन भारतीय व्यापारीले पनि आनाकानी गरिरहेको स्थानीय बताउँछन् । २०४१ सालदेखि भारतीय एक रुपैयाँँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा हुने स्थिर विनिमय दर कायम छ । यद्यपि वैधरूपमा कायम भएको यो सटही दर अहिले सीमावर्ती क्षेत्रमा लागू भएको पाइँदैन । नेपाल र भारतबीच रहेको खुला सीमाका कारण दुवै देशका नागरिक सहजै आवत–जावत गर्न पाउँछन् । नेपाली सवारीसाधन नजिकै पर्ने भारतीय बजारमा जान पाउँछन् भने भारतीय सवारीसाधन पनि सीमावर्ती नेपाली बजारमा गुड्न पाउँछन् । भारतीय नागरिकले नेपालमा आएर सहजरूपमा भारुको कारोबार गरेर सामान किनमेल गरिरहेकोमा अहिले सीमावर्ती नेपाली बजारका व्यापारी भारु लिन चाहँदैनन् ।

भारु साट्न झन्झटिलो बन्दै गएको हुँदा भारु लिएर किनमेल गर्न छाडिएको नाम उल्लेख नगर्ने शर्तमा भण्टाबारीका एकजना व्यापारीले बताए । ‘केही समययता भारु लिएर गरिने किनमेल लगभग बन्दजस्तै छ’ ती व्यापारीले भने, ‘सामान लिएर भारु दिँदा भारु लिन भारतीय व्यापारी पनि मान्दैनन्, साट्नु परेको अवस्थामा ५ देखि ८ रुपैयाँसम्म उल्टै बट्टा तिर्नुपर्छ ।’

नेपाल राष्ट्र बैङ्कले १ सय रुपैयाँभन्दा माथिका भारु नोट नेपालमा प्रतिबन्ध लगाएको छ । यद्यपि खुला सिमाना तथा व्यापारिक सम्बन्धका कारण भारु नेपाली बजारमा पनि खुलेआम रूपमा कारोबार हुन्छ । पछिल्लो समय भारुको माग घटेको र मूल्य पनि कम भएको भन्दै नेपाली व्यापारीले भारु साट्न नमानेको बताइएको छ । यसले गर्दा धेरै नेपालीलाई समस्या भएको बुझिएको छ । किनभने अधिकांश नेपालीहरू भारतीय बजारमा निर्भर छन् । उनीहरू दैनिक उपभोग्य वस्तुदेखि महँगो सामान पनि भारतबाटै ल्याउँछन् । तर, व्यापारीहरूले भारु साट्न नमान्दा उनीहरूलाई चिन्ता थपिएको छ ।