विजयपुर । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा कुल १ अर्ब ७१ करोडको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा तीन करोडले बढी हो । महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाइरहेको नगरप्रमुख कोष र उपप्रमुख कोषमा भने बजेट वृद्धि गरिएको छ ।

आइतबार धरान उपप्रमुख अइन्द्र विक्रम बेघाले १३ औँ नगरसभामा आर्थिक वर्ष २०८०/०८१ को प्रस्तुत बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार विकासमा सशर्त अनुदान ७ करोड ४ लाखसहित कुल ४३ करोड ५१ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको  छ । शिक्षा युवा तथा खेलकुदमा सशर्त अनुदान ४५ करोड ७३ लाखसमेत कुल ४७ करोड १३ लाख विनियोजन गरेको छ ।


नगर क्षेत्रभित्र रहेका विभिन्न सार्वजनिक जग्गा र जलाधार संरक्षण र उपयोगसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । राजस्व सुधार तथा संस्थागत क्षमता विकास अन्तर्गत नगरको आन्तरिक स्रोत परिचालन गरी क्रमशः आत्मनिर्भर हुँदै जाने नीति अनुरूप राजस्व सुधार कार्यक्रमका लागि आन्तरिक स्रोतबाट २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आवधिक योजना र भौगोलिक सूचना प्रणालीको नक्सा अद्यावधिक गर्ने कार्यका लागि आन्तरिक स्रोतबाट ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरले नगरप्रमुख कोषमा १ करोड ७५ लाख रुपैयाँ र  उपप्रमुख कोषमा ७५ लाख रुपैयाँ विनियोजना गरेको छ ।

आकस्मिक कोषमा ५ लाख, विपद् व्यवस्थापन कोषमा २० लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकलगायतका अन्य खर्चमा ४१ करोड ८४ लाख ५० हजारसमेत गरी कुल जम्मा ४४ करोड ५९ लाख ५० हजार विनियोजन गरेको छ । नगरले वडागततर्फ कुल २१ करोड बजेट विनियोजन गरेको छ ।

वडा नं. १ मा ७७ लाख ३४ हजार ५ सय ६९ रुपैयाँ, वडा नं. २ मा ६९ लाख १९ हजार २ सय ९३ रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. ३ मा ६८ लाख ७९ हजार १ सय ३ रुपैयाँ रहेको छ । वडा नं. ५ मा १ करोड १६ लाख १२ हजार ५ सय ५२ रुपैयाँ, वडा नं. ६ मा १ करोड १० लाख ६७ हजार ७ सय ५९ रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै वडा नं. ७ मा ६६ लाख २१ हजार ३ सय ७९ रुपैयाँ,  वडा नं. ८ मा १ करोड ३५ लाख ४० हजार ३ सय ७९ रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. ९ मा ७४ लाख ३९ हजार ८ सय ४५ रुपैयाँ, वडा नं. १० मा ७९ लाख १९ हजार ५ सय ६९ रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी वडा नं. ११ मा १ करोड २६ लाख २४ हजार ९ सय ४८ रुपैयाँ, वडा नं. १२ मा ७६ लाख ६३ हजार १ सय २१ रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. १३ मा १ करोड ७ लाख ७६ हजार ८ सय ६२ रुपैयाँ, वडा नं. १४ मा ८१ लाख ४६ हजार ३४ रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. १५ मा १ करोड ९० लाख ८७ हजार ८ सय २८ रुपैयाँ, वडा नं. १६ मा १ करोड १४ लाख २८ हजार ८ सय २८ रुपैयाँ विनियोजन गरिएको छ । वडा नं. १७ मा १ करोड ६२ लाख ९३ हजार ६ सय ९० रुपैयाँ, वडा नं. १८ मा ८१ लाख ९७ हजार ६९ रुपैयाँ, वडा नं. १९ मा १ करोड ११ लाख १४ हजार ९ सय ६६ रुपैयाँ र वडा नं. २० मा १ करोड ३८ लाख २८ हजार ७ सय २४ रुपैयाँ विनियोजन गरेको छ ।

बजेटमा आन्तरिक आय ४२ करोड ७२ लाख ६ हजार रुपैयाँ अुनमान गरिएको छ । सङ्घीय सरकारको अनुदानबाट ९० करोड २ लाख रुपैयाँ, प्रदेश सरकार अनुदान ४ करोड १ लाख ९२ हजार रुपैयाँ, सङ्घीय राजस्व बाँडफाँटबाट  २० करोड १३ लाख १२ हजार रुपैयाँ र प्रदेश राजस्व बाँडफाँटबाट १४ करोड १० लाख ९० हजार प्राप्त हुने अनुमान गरिएको छ ।