आर्थिक वर्ष २०८०-८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट १३ औं नगरसभामा पेश गरेको छ ।
उपप्रमुख संगीताकुमारी चौधरीले बजेट पेश गर्दै उपमहानगरले चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पुँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको जानकारी गराइन् ।
मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेंग्रा खोलाको अवरोध हटाउने, रिभर करिडोर र ग्रीन बेल्ट बनाउने मुख्य योजनासहितको बजेट नगर सभामा पेश गरिएको छ ।
आगामी आर्थिक वर्षमा इटहरीको चौबाटोमा दुईवटा आकाशे पुल निर्माण गर्ने बजेटमा उल्लेख छ । स्वस्थ्य इटहरी कार्यक्रमअन्तर्गत नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि २ वटा एम्बुलेन्स खरिद गर्ने समेत बजेटमा उल्लेख छ । इटहरी उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।