वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ लागि ९१ करोड १६ लाख २८ हजार रुपैंयाको बजेट १२ औं नगर सभामा पेश गरेको छ । 

शनिबार नगर उपप्रमुख नन्दकुमारी राईले प्रस्तुत गरेको बजेटमा आन्तरिक, प्रदेश र संघीय स्रोतबाट आम्दानी प्रक्षेपण गरिएको छ ।

बजेटको नगरको आन्तरिक आयतर्फ ७ करोड ३२ लाख रुपैयाँ, संघको सशर्त अनुदानबाट ४३ करोड ५८ लाख, विशेष अनुदानमा १ करोड र समपुरक कोष ८० लाख रुपैंया छ । 

यसैगरी संघीय वित्तीय समानीकरण अनुदामा १८ करोड र राजस्व बाँडफाँडमा १५ करोड ६२ लाख १३ हजार रुपैंया रहेको छ । संघीय सशर्त अनुदान ४३ करोड ५८ लाख, समपुरक १ करोड र विशेष अनुदान ८० लाख रुपैंया रहेको छ ।

प्रदेशको वित्तीय समानीकरण अनुदान १ करोड २० लाख ४७ हजार, सशर्त अनुदानमा १ करोड १० लाख २५ हजार, समपुरक अनुदानमा १ करोड ३० लाख र प्रदेश राजस्व बाँडफाँडमा ९१ लाख ४३ हजार रुपैयाँ रहेको उपमेयर राईले बताइन् ।

बजेटको खर्चमा नगरको चालु खर्च १३ करोड, ८९ लाख ५० हजार, वडा कार्यालय पुँजीगत खर्च ९ करोड ९० लाख, नगरको पुँजीगत खर्च १९ करोड ५८ लाख ५३ हजार रुपैंया रहेको छ ।

नगरपालिकाको चालु आर्थिक वर्ष ०७९–८० को बजेट १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैंया रहेको थियो । कुल विनियोजित बजेटको चालु खर्च ७७ प्रतिशत ४१ करोड १७ लाख थियो भने कुल बजेटको ५७ प्रतिशत ३३ करोड ४७ लाख रुपैंयाँ पुँजीगत खर्च भएको थियो । यसैगरी संघ र प्रदेश वाट प्राप्त सशर्त र समपुरक अनुदान बाहेक यर्थाथ आम्दानीको ८५.६९ प्रतिशत चालु तर्फ ११ करोड ३२ लाख ७९ हजार र ७२ प्रतिशतले ३० करोड ५५ लाख रुपैंया खर्च भएको प्रस्तुत बजेट वक्तव्यमा राईले जानकारी दिइन् ।

नगरसभामा मेयर रमेश कार्कीले आगामी आर्थिक वर्षको नीति,  कार्यक्रम पेश गरेका थिए । नगरले स्वास्थ्य, शिक्षा, कृषि, पशुपंक्षी, भौतिक र सामाजिक विकास, पर्यटन, सार्वजनिक सेवा र सुशासन प्रवद्र्धन, वन वातावरण भूमि तथा भू–संरक्षण, युवा खेलकुद विकास, खानेपानी तथा सरसफाइलगायतका प्राथमिकता प्रस्तुत गरेका थिए । 

नगर सभामा सम्मान

नगर सभामा २२ जेष्ठ नागरिक, कर्मचारी र खेल विधाका खेलाडी र डुंगा दौडका विजेतालाई सम्मान गरिएको छ । 

कार्यक्रममा ब्लाष्टकर्मी सन्तोष गुप्ता र संचारकर्मी वियजकुमार राउतलाई सम्मान गरिएको छ । 

नगर सभामा वडा नम्बर ८ का अध्यक्ष तेजबहादुर गुरुङले आर्थिक विधेयक र वडा नं. ७ का अध्यक्ष कपिल आचार्यले नगर प्रहरी र संघ संस्था दर्ता विधेयक पेश गरेका थिए ।