विराटनगर । भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएल अन्तर्गत विना रोकटोक आयात गर्न दिनुपर्ने यहाँका उद्योगी व्यवसायीहरूले माग राखेका छन् ।
मोरङ व्यापार सङ्घको विराटनगरमा सोमबार भएको ६६ औँ साधारणसभाको उद्घाटन सत्रमा उद्योगी व्यवसायीहरूले यस्तो बताएका हुन् । उनीहरूले ‘भारतसँगको खुला सिमानालाई नेपालीले ‘स्ट्रेन्थ’ का रूपमा लिनुपर्ने’ भन्दै मोरङका व्यवसायीले हाकाहाकी अनधिकृत निर्यात व्यापारलाई प्रवद्र्धन गर्नुपर्ने बताए । कार्यक्रममा मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले भारतले उच्च भन्सार दर राखेको सामान नेपालले ओजिएलअन्तर्गत विना रोकटोक आयात गर्न दिनुपर्ने बताए ।
‘हाम्रा लागि यो खुला सिमाना एउटा अवसर हुनसक्छ’ उनले भने, ‘खुला सिमानाका कारण भारत जाने सामानको आयात गर्दा भन्सार महसुल, मूल्य अभिवृद्धि कर (मुअकर) तिरिएको हुन्छ र व्यापारीको लाभबाट आयकर पनि सरकारले प्राप्त गर्छ । अहिले भारतमा डलरको मूल्य भारु ८२ छ । नेपालमा डलर रेमिट्यान्सबाट आउँछ । यसरी तेस्रो मुलुकका सामान ओजिएलअन्तर्गत बेरोकटोक आयात गर्न दिने हो भने हामी एक डलरलाई भारु १ सय १० सम्ममा भजाउन सक्छौँ ।’ रिजालले नेपालका उद्योगको उत्पादन–लागत बढी हुँदा भारतका उद्योगसित समुद्रपारतर्फको निर्यातमा प्रतिस्पर्धा गर्न नसकेको बताए ।
उनले भारतीय उद्योगहरूको आर्थिक हैसियत र उत्पादन क्षमता नेपालका उद्योगको भन्दा धेरै ठूलो भएको बताए । उनले समुद्रपारका मुलुकमा निर्यात गर्ने नेपालका उद्योगको कोलकाता बन्दरगाहसम्म गरेको ढुवानीको र पोर्ट क्लियरिङमा लागेको खर्च नेपाल सरकारले व्यहोर्नुपर्ने आग्रह गरे । उनले सरकारले यी दुई खर्चमा व्यवसायीलाई सहुलियत दिए समुद्रपारतर्फको निर्यात ठूलो मात्रामा वृद्धि हुने दाबी गरे । उनले व्यवसाय गर्दा नाफा मात्रै नभई घाटासमेत हुने तर, घाटाको ब्यालेन्स सिटलाई कर कार्यालयले मान्यता नदिने हुँदा यस नीतिलाई सच्याउनुपर्ने सुझाव दिएका छन् । रिजालले आलु, प्याज तथा फलफूलजस्ता दैनिक उपभोगका वस्तुमा लगाइएको मूअकर तुरुन्त खारेज गर्नुपर्ने बताए ।
उनले आलु, प्याज र फलफूलको मूअकरले सर्वसाधारणको जीविकामा ठूलो असर परेको जिकिर गरे । यसबाट अवैध आयात पनि उत्तिकै बढेको उनको ठहर छ । उनले घिउतेलको कच्चा पदार्थमा भन्सार महसुल १० प्रतिशत बनाइएपछि भारतबाट खाने तेलको अवैध आयात वृद्धि भएको भन्दै यसलाई साबिककै १ प्रतिशतमा ल्याउन अनुरोध गरे । उनले मेल्टिङमा आधारित फलामे उद्योगले उत्पादन गरेको टीएमटीमा प्रतिकिलो १ रुपैयाँका दरले अन्तःशुल्क लगाएका कारणले बिलेटको आयातलाई प्रोत्साहन भएको चर्चा गरे ।