सुनसरी । सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजले ११ महिनाको अवधिमा वार्षिक लक्ष्यको ८४ दशमलव १९ प्रतिशत मात्रै राजस्व असुली गरेको छ ।

चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी हुँदा सुनसरी भन्सार कार्यालयले वार्षिक ८२ करोड ९३ लाख ३२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा साउनदेखि जेठ मसान्तसम्म ८४ दशमलव १७ प्रतिशत अर्थात् ६९ करोड ८० लाख १३ हजार मात्रै राजस्व सङ्कलन गरेको हो । सुनसरी भन्सार कार्यालयको लक्ष्यअनुसार जेठ मसान्तसम्ममा वार्षिक लक्ष्यको ९० दशमलव ४३ प्रतिशत अर्थात् ७७ करोड १८ लाख ९० हजार राजस्व सङ्कलन गरिसक्नुपर्ने थियो । 

सुनसरी भन्सार कार्यालयले साउन महिनामा ६ करोड ५७ लाख ५८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ६ करोड ९५ लाख ११ हजार अर्थात् १ सय ५ दशमलव ७१ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने भदौ महिनामा ७ करोड २६ लाख ९६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा १ सय ३२ दशमलव ६१ प्रतिशत अर्थात् ९ करोड ६४ लाख ३ हजार राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी असोज महिनामा ६ करोड ८२ लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ५ करोड ५८ लाख ६० हजार अर्थात् ८१ दशमलव ८८ प्रतिशतमात्रै राजस्व सङ्कलन गरेको थियो भने कात्तिक महिनामा ६ करोड ५५ लाख ८६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ७ करोड ८९ लाख ४५ हजार अर्थात् १ सय २० दशमलव ३७ प्रतिशत राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै मङ्सिर महिनामा ७ करोड ८५ लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा सुनसरी भन्सार कार्यालयले ९ करोड १ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो भने पुस महिनामा ८ करोड ११ लाख ६३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ६ करोड ८० लाख १२ हजार अर्थात् ८३ दशमलव ८० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । सुरुवाती ६ महिनाको अवधिमा सुनसरी भन्सार कार्यालयले ४५ करोड ८८ लाख ९५ हजार राजस्व सङ्कलन गर्न सफल भए पनि पछिल्लो पाँच महिनाको अवधिमा राजस्व सङ्कलन घटेको देखिन्छ । 

चालु आर्थिक वर्षको सुरुवाती ६ महिनाको अवधिमा अपेक्षाभन्दा बढी राजस्व असुल गरे पनि पछिल्लो पाँच महिनायता राजस्व सङ्कलनमा कमी आएको सुनसरी भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत गणपति कडेलले जानकारी दिए । जसका कारण सुनसरी भन्सार कार्यालयलाई  वार्षिक लक्ष्य भेट्टाउन चुनौतीपूर्ण हुने देखिएको छ । भारत बिहारको मिरगञ्ज पुल मर्मत हुँदा भण्टाबारी नाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोगमा आएपछि सुनसरी भन्सार कार्र्यालयलाई राजस्व सङ्कलन गर्न सहयोग पुगेको थियो ।

यद्यपि उक्त पुल सञ्चालनमा आउनु, व्यापारमा मन्दी आउनु, धान र गहुँमा कोटा तोकिनु, अपेक्षाभन्दा बढी सुनसरी भन्सार कार्यालय वार्षिक लक्ष्य प्राप्तिको लक्ष्य राख्नुजस्ता कारणले आगामी दिनमा राजस्व असुल गर्न निकै चुनौतीपूर्ण हुने सङ्केत देखिएको उनको भनाइ छ । सुनसरी भन्सार कार्यालय विगतमा औसत ५० करोड राजस्व असुली गर्ने लक्ष्य राख्ने गरेको देखिन्छ उनले भने यसपटक भने एकैपटक ३२ करोड बढी राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

‘व्यापारमा मन्दी छ, सुनसरीका नाका हुँदै विगतमा आउने कतिपय सामान अन्यत्रबाट पनि आउन थालेको छ, त्यसैले यही अवस्थामा वार्षिक लक्ष्य भेट्टाउन निकै चुनौतीपूर्ण हुने अवस्था छ’–निमित्त प्रमुख भन्सार अधिकृत कडेलले भने ।

सुनसरी भन्सार कार्यालयले जेठ महिनामा ५ करोड ९२ लाख ६७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४ करोड ५ लाख ५७ हजार अर्थात् ७६ दशमलव ०२ प्रतिशत राजस्व मात्रै सङ्कलन हुनुले पनि सुनसरी भन्सार कार्यालयलाई लक्ष्य भेट्टाउन निकै चुनौतीपूर्ण देखिएको छ ।