धरान । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट एकीकृत कारोबार सुरु गरेका छन् ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष दीपक खनालले उद्घाटन गरे । आदर्श लघुवित्त वित्तीय संस्था बुद्धनगर शाखाकी असल ग्राहक सदस्य विद्यालक्ष्मी श्रेष्ठलाई एमपासबुक वितरण गरी शुभारम्भ गरिएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष पिताम्वरप्रसाद आचार्यले एकीकृत कारोबारले जनतामा थप उत्साह ल्याउने बताए । मर्जर तथा एक्विजिसन समितिका संयोजक वासुप्रसाद उपाध्याय र सदस्य सुसन कर्माचार्यले एकीकृत कारोबार गर्नुअगाडिको अनुभव शेयर गरेका थिए ।
८१ लाख २० हजार चुक्ता पँुजीबाट सुरु भएको संस्थाको हाल एकीकृत कारोबारपश्चात् चुक्ता पुँजी १ अर्ब ५५ करोड १० लाख पुगेको छ । अब संस्थाको कार्यक्षेत्र ७३ जिल्ला र शाखा सञ्जाल सङ्ख्या १ सय ५६ पुगेको कम्पनीले जनाएको छ । कार्यक्रममा साविक आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले मन्तव्य राखेकी थिइन् ।