भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास तेल र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ ।
तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारेको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको आधिकारिक सूचनामा उल्लेख छ ।
भारतमा खाना पकाउने दुवै तेल मुख्यतया अर्जेन्टिना, ब्राजिल, युक्रेन र रूसलगायत देशबाट आयात हुने गरेको छ ।
घरेलु माग पूरा गर्न र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब छ महिनापछि भन्सार महसुलको दर पुनरावलोकन गरिएको थियो ।
सूचनामा भनिएको छ, ‘सार्वजनिक हितमा त्यसो गर्न जरूरी छ । यो सूचना जून १५ देखि लागु हुनेछ ।’
इन्डियन एक्सप्रेसको एक समाचारमा विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरीदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको जनाइएको हो ।
यसैबीच भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार मे महिनामा भारतको निर्यात ६० अर्ब २९ करोड अमेरिकी डलर रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ प्रतिशतले कम हो ।
आयात ७.४५ प्रतिशतले घटेर ७० अर्ब ६४ करोड अमेरिकी डलर को बराबरीमा हुने अनुमान गरिएको छ ।
विद्युतीय सामान र कृषि निर्यातमा वृद्धि देखिएको छ, तर सन् २०२२ को अप्रिल–मे मा समग्र व्यापार घाटा २०.५६ अर्ब डलरबाट अप्रिल–मे २०२३ मा सुधार भई १३.२८ अर्ब डलर पुगेको छ ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्टर्स अर्गनाइजेसनका अध्यक्ष ए शक्तिवेलका अनुसार निर्यातमा आएको गिरावटको मुख्य कारण कुल गार्हस्थ्य उत्पादनमा आएको कमी, भूराजनीतिक तनाव, मौद्रिक कडाइ र मन्दीको डर हो ।
– रासस