कुवेतको प्रधानमन्त्रीमा शेख अहमद नवाफ अल अहमद अल–सबाहलाई पुनः नियुक्त गर्न मङ्गलबार शाही आदेश जारी गरिएको कुवेत समाचार एजेन्सी (कुना) ले जनाएको छ ।

कुवेतका युवराज शेख मिशाल अल अहमद अल–अहमद अल–जबर अल–सबाहद्वारा हस्ताक्षरित इमिरी फरमान (निर्देशन)मा भनिएको छ, “नयाँ क्याबिनेट सदस्य मनोनित गर्ने र उनीहरूको नाम बुझाउने जिम्मेवारी शेख अहमदलाई तोकिएको छ ।”

कुवेती अमिरले अघिल्लो सरकारको राजीनामा स्वीकृत गरेको करिब एक हप्तापछि जारी गरिएको यो आदेश जुन २० मा नवनिर्वाचित राष्ट्रिय सभा (संसद) को बैठक बस्नुभन्दा एक हप्ता अघि आएको हो ।

जुन ६ मा कुवेतका मतदाताले १७ औं राष्ट्रिय सभाको निर्वाचनका लागि मतदान गरेका थिए । चार वर्षका लागि नयाँ विधायिकामा २०७ जना उम्मेदवारमध्ये ५० जना निर्वाचित भएका थिए ।

गत मार्चमा संवैधानिक अदालतको फैसलापछि पुन ःस्थापित भएको कुवेतको संसद् यसै वर्षको मे महिनामा शाही आदेशद्वारा विघटन गरिएको थियो ।    बितेका वर्षहरूमा, कुवेतको मन्त्रीपरिषद् र संसदबीचको तनावको कारण बारम्बार मन्त्रिमण्डल पुनर्गठन र संसद विघटन भएको छ ।

शेख अहमदको जन्म १९५६ मा कुवेती अमिर शेख नवाफ अल–अहमद अल–जबर अल–सबाहको जेठो छोराको रूपमा भएको थियो । उहाँले नोभेम्बर २०२० देखि मार्च २०२२ सम्म कुवेत नेशनल गार्डको सह कमाण्डरको रूपमा काम गर्नुभएको थियो भने जुलाई २४, २०२२ मा पहिलो पटक प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए  ।