बिर्तामोड । सहकारी संस्थालाई संरक्षण गर्ने उद्देश्य लिएर अभियान सुरु गरेको को–अपरेटिभ एलायन्स अफ झापामा आबद्ध सहकारीहरूले आफ्नो संस्थालाई गुणस्तरीय र मापदण्डयुक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।

झापाको दमकमा सम्पन्न एलायन्सको बैठकमा सहभागी २५ भन्दा बढी प्रारम्भिक सहकारी संस्थाका सञ्चालक, कर्मचारी र प्रतिनिधिहरूले सो प्रयोजनका लागि खराब ऋणीहरूको विवरण एकापसमा आदान–प्रदान गर्ने निर्णय गरेका हुन् ।  एलायन्सका संयोजक रामचन्द्र उप्रेतीका अनुसार एलायन्समा आबद्ध सहकारीहरूले आफ्नो समूहमा आदान–प्रदान गरेको २०८० वैशाखको वित्तीय विवरणको आधारमा समीक्षा गर्दा तरलताको अवस्था सन्तोषजनक रहेको र यसलाई कायम राख्न सबैमा आह्वान गरिएको थियो । यस्तै एलायन्समा आबद्ध सहकारीहरूको उठ्न बाँकी ब्याज औषतमा ५ प्रतिशत रहेकाले उक्त अङ्क अधिक हो भन्ने ठहर गर्दै असार मसान्तमा एक प्रतिशतभन्दा कम बनाउन सबैले प्रयास गर्ने र प्रतिकूल समयका कारण यस्तो ब्याज २ प्रतिशतभन्दा कम गर्नुपर्ने समीक्षासहित सबै सहकारीलाई सुझाव दिइएको संयोजक उप्रेतीले बताए ।

सो बैठकमा सदस्यले लिएको ऋणको तिर्न बाँकी ब्याजलाई सावाँमा परिणत गरेर साँवा ब्याजलाई गाभेर ऋणको रकम बढाउनु जोखिम हुने हुँदा एलायन्समा आबद्ध संस्थाहरूले त्यसो नगर्ने निर्णय गरेका छन् । यसैगरी एउटै सदस्य वा परिवारमा धेरै निक्षेप, ठूलो कर्जा लगानी र अत्यधिक शेयरले जोखिम निम्त्याउने हुँदा यसमा सतर्कता अपनाउने निर्णय गरेको भन्दै संयोजक उप्रेतीले एलायन्समा आबद्ध सहकारी संस्थाहरूमा दोहोरो सदस्यता क्रमशः घटाउँदै लाने प्रतिबद्धता गरिएको जनाए । एलायन्सको अर्थ नै ‘मैत्रीसम्बन्ध’ भएकाले बैठकमा पहिलोपटक सहभागी विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा प्रतिनिधिहरूबाट सुझावहरू प्राप्त गरिएको उप्रेतीले बताए । सहकारीबाट लिएको कर्जा तिर्नु पर्दैन भनेर अफवाह पैmलाउँदै अराजकता निम्त्याउन चाहनेहरू पछिल्लो समय कमजोर बन्दै गएको पनि समीक्षा भएको संयोजक उप्रेतीको भनाइ छ ।

को–अपरेटिभ एलायन्स अफ झापाले (लोगो) निर्माण गरेरै आफ्नो उपस्थिति जनाउने सर्वसम्मतिले निर्णय गरेको जनाएको छ । विभिन्न आकृति र अर्थ झल्काउने लोगोहरूमध्ये छनोट गर्दा इन डिजाइन बिर्तामोडका डिजाइनर एकराज प्रधानले तयार गरेको सहकारीका सात रङहरू मिश्रित लोगोलाई स्वीकृत गर्दै प्रयोगमा लैजाने निर्णय भएको संयोजक उप्रेतीले जानकारी दिएका छन् ।