धरान उपमहानगरले नीतिगतरूपमा अघि सारेको ‘तीनपाने कोदोको रक्सी र धराने कालो बङ्गुर’ प्रवद्र्धनको अवधारणा ‘फेल’ खाएको छ ।

सङ्घीय सरकारले ‘नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८’ को निर्देशिका बमोजिम अवधारणा-पत्र तयार गर्न ‘ग्रीन सिग्नल’ दिएको कार्यक्रमका लागि बजेट विनियोजन हुन सकेन ।

गतवर्ष नै सुरु गर्ने लक्ष्य राखिएको कार्यक्रमका लागि बजेट प्रदान गर्न सङ्घीय सरकार उदासिन भएपछि सांसद्हरूले सदनमै उठाउँदै आएको योजना धरानमा भने ‘असफल’ भएको छ । धरानको तीनपाने कोदोको रक्सी र धराने कालो बङ्गुर देशभरि प्रख्यात छ । विदेशमा बस्ने नेपालीमा पनि माग बढ्दो छ ।

धरान उपमहानगरपालिकाले यसको प्रवद्र्धनका लागि संस्थागत योजना अघि सारेको थियो । परम्परागत रूपमा उत्पादित तीनपाने रक्सीको बारेमा थप ज्ञान, सीप दिने र व्यावसायीकरण गर्न प्रोत्साहित गर्ने उपमहानगरको अवधारणा थियो । धरान उपमहानगरले नै यस विषयमा कानून बनाउने तयारी गरेको थियो । कोदोको रक्सी र धराने कालो बङ्गुरको मासुलाई ग्रेडिङ गरेर देश तथा विदेशमा निर्यात गर्न सकिने अपेक्षा लिइएको थियो ।

कोदोको रक्सी र धराने कालो बङ्गुरलाई थप प्रवर्धन गर्न दुईवटा अवधारणा पत्र तयार गर्ने गत ०७८ माघ १७ मा छलफलपछि निर्णय भएको थियो । धरानका तत्कालीन नगरप्रमुख तिलक राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोलीले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका विज्ञहरूसँग बसेर छलफल गरे ।

छलफलमा ‘नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन निर्देशिका २०७८’ को निर्देशिका बमोजिम अवधारणा–पत्र तयार गर्ने सहमति भयो । अवधारणा–पत्र तयारी गर्ने जिम्मेवारी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई दिइयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १ करोड ५० लाख र उपमहानगरपालिकाको ७० लाखको लागतमा प्रोजेक्ट अगाडि बढ्ने भनियो । केन्द्रीय प्रविधि क्याम्पसलाई साझेदार संस्थाका रूपमा लिई धरान उपमहानगरपालिकाले कार्य सम्पन्न गर्नेसमेत छलफलमा निर्णय भएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको १ करोड ५० लाख र उपमहानगरपालिकाको ७० लाखको लागतमा प्रोजेक्ट अगाडि बढ्ने भनियो । केन्द्रीय प्रविधि क्याम्पसलाई साझेदार संस्थाका रूपमा लिई धरान उपमहानगरपालिकाले कार्य सम्पन्न गर्नेसमेत छलफलमा निर्णय भएको थियो ।

धरानमा कोदोको तीनपाने रक्सी र धराने कालो बङ्गुरलाई ब्राण्डिङ गर्ने साथै वडा नं. ४ र २० मा होमस्टेको विकास गरी आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने  योजना निर्माण भएको अवधारणाका सम्पर्क व्यक्ति धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ बताउँछन् ।

चालु आर्थिक वर्षमा धरान उपमहानगरपालिकाले उक्त शीर्षकमा १ लाख रुपैयाँ बजेटसमेत विनियोजन गर्‍यो  । तर, योजनाअनुसार काम सम्पन्न हुन नसक्दा आर्थिक वर्षको अन्त्यसम्ममा पनि विनियोजित रकम ज्यूँका त्यूँ रहेको छ ।

२०७९/०८० को बजेट उपशीर्षकको उपक्षेत्र ‘पर्यटन’ अन्तर्गत सि.नं. ३ मा कालो बङ्गुर र तीनपाने प्रवद्र्धन (होमस्टे प्रवर्धन  कार्यक्रमसमेत) मा विनियोजित प्रत्येक त्रैमासिकमा २५ हजार रुपैयाँका दरले खर्च हुने गरी १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माले कार्यक्रम गर्न नसकिएको बताए । उपमहानगरबाट विनियोजित बजेटसमेत खर्च नभएको जानकारी दिए ।

उनले नवप्रवर्तन साझेदारी कोषलाई प्रस्ताव पेश गरेको भए पनि कार्यक्रम नआएको बताए । ‘हामीले प्रस्ताव पेश गरेका थियौँ, एप्रुभ भएनछ’ अधिकृत शर्माले भने, ‘छलफल, माइन्यूटिङ र निर्णयअनुसार नै हामीले अनलाइनमार्फत् योजना पेश गरेका थियौँ तर, कार्यक्रम आएन ।’

अवधारणाका सम्पर्क व्यक्ति रहेका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले समेत कार्यक्रम अघि बढ्न नसकेको बताए । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारकी सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले धरान उपमहानगरपालिकासँग छलफल भएको बताइन् ।  तर, हात्तीसार क्याम्पसले समेत कार्यपत्रको काम अघि बढाउने कुरा उपमहानगरपालिकाबाट आउन नसकेको बताइन् ।
अवधारणाका सम्पर्क व्यक्ति रहेका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले समेत कार्यक्रम अघि बढ्न नसकेको बताए । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारकी सहायक क्याम्पस प्रमुख बबिता अधिकारीले धरान उपमहानगरपालिकासँग छलफल भएको बताइन् ।  तर, हात्तीसार क्याम्पसले समेत कार्यपत्रको काम अघि बढाउने कुरा उपमहानगरपालिकाबाट आउन नसकेको बताइन् ।

‘बैठकमा कार्यपत्र बनाउनेबारे छलफल भएको हो, कार्यपत्र बनाउने काम भने अघि बढेको रहेनछ, मैले हाम्रो रिसर्च युनिटलाई सोधेँ’ सहायक क्याम्पस प्रमुख अधिकारीले भनिन्, ‘नगरपालिकाबाट पनि फलोअप भएन, अहिले पनि केही बिग्रेको छैन, त्यस विषयमा हामीले गर्न सक्ने सहयोग गर्छौं ।’