अमेरिकाको भर्जिनियाको रिचमन्डस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटी नजिकै गोलीवारिको घटना भएको छ । भर्जिनिया कमनवेल्थ युनिभर्सिटी नजिकै रहेको हाईस्कूलमा एक समारोहपछि गोली चल्दा दुई जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रिचमन्डका प्रहरी प्रमुख रिक एडवर्ड्सले गोली काण्डपछि दुई संदिग्धलाई नियन्त्रणमा लिइएको बताएका छन् । उनका अनुसार स्थानीय समयअनुसार साँझ सवा ५ बजे तिर दीक्षान्त कार्यक्रम भइरहँदा थिएटरका अधिकारीहरूले गोली चलेको आवाज सुनेका थिए । त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए । एडवर्ड्सले घटना स्थलको अवस्था सामान्य बनेको भन्दै जनतालाई कुनै खतरा नरहेको बताएका छन् । यद्यपि हिरासतमा लिएका संदिग्धहरुको पहिचान भने खुल्न सकेको छैन ।
रिचमन्डका मेयर लेभर स्टोनीले यस्तो घटना कहीँ पनि हुन नहुने बताएका छन् । घटनामा संलग्नलाई न्यायको कठघरामा ल्याउन हामी हर सम्भव प्रयास गर्ने उनले बताएका छन् ।
रिचमन्ड पब्लिक स्कुलले आफ्नो वेबसाइटमा एक सन्देश जारी गर्दै मोनरो पार्कमा गोली चलेको जनाएको छ । कलेज परिसरसँगै जोडिएको हाई स्कुलको दीक्षान्त समारोहपछि उक्त घटना भएको हो । स्कूल बोर्डका सदस्य जोनाथन योङले सञ्चारमाध्यमा दिएको जानकारी अनुसार विद्यार्थी र अन्य सहभागीहरू थिएटरबाट बाहिर निस्कँदै गर्दा उनीहरूले लगातार २० राउन्ड गोली चलेको आवाज सुनेका थिए।