वराहक्षेत्र । चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका दूध उत्पादन गर्ने साधारण शेयर सदस्य किसानलाई अनुदान रकम वितरण गरिएको छ । कोशी प्रदेश सरकारको कृषि मन्त्रालयले सहकारीका ३ सय ७९ जना शेयर सदस्यलाई करिब साढे १२ लाख रुपैयाँबराबर अनुदान बाँडेको छ ।

सोमबार वराहक्षेत्र नगरालिकाको वडानम्बर २ को सभाहलमा भएको कार्यक्रममा उनीहरूलाई दूध उत्पादनको आधारमा प्रतिलिटर २ रुपैयाँको दरले प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा अनुदान वितरण गरिएको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीका अध्यक्ष सीता भण्डारी पौडेलले बताइन् । गतसालको साउनदेखि माघ महिनासम्म सबै भन्दा बढी दूध उत्पादन गर्ने चतरा, भरौल र महेन्द्रनगर चक्रघट्टीका तीन किसानलाई साङ्केतिक र बाँकी अन्यलाई उनीहरू सदस्य रहेको शाखा कार्यालयबाट अनुदान रकम दिइएको थियो ।

कार्यक्रममा अनुदान पाउनेहरूमा ८ हजार ३ सय ९५ लिटर दूध उत्पादन गर्ने भरौल शाखाका उमाकान्त दाहाललाई १६ हजार ७ सय ९१ रुपैयाँ, ६ हजार ६ सय ७३ लिटर दूध उत्पादन गर्ने सहकारीको मुख्य कार्यालय चतराका रामबहादुर बस्नेतलाई १३ हजार ४ सय ४७ र ३ हजार ५ सय ३७ लिटर उत्पादन गर्ने महेन्द्रनगर चक्रघट्टीका प्रभुराम थापालाई ७ हजार ७५ रुपैयाँ प्रदान गरेको अध्यक्ष पौडेलले बताइन् ।

नगरपालिकाको ३ वटा शाखाका १ हजार सदस्यलाई भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र इनरुवाका प्रमुख कुमार खत्री र आदर्श माविका पूर्व प्रधानाध्यापकद्वय प्रह्लाद भट्टराई र ज्ञानबहादुर पाण्डेले प्रशिक्षण र सहजीकरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी पाण्डेले भ्रष्टाचारजस्ता कारणले सहकारीलाई जनताले शङ्का गरिरहेको अवस्थामा चतरा बहुउद्देश्यीयले उनीहरूको विश्वास बचाएर राखेको प्रशंसा गरिन् । उनले सदस्यलाई पूर्ण रोजगारी सिर्जना गर्नुका साथै चतरा सहकारीले नामअनुसारका विभिन्न आधुनिक तालिमका प्याकेजहरू ल्याउनुपर्ने आवश्यकता औंल्याइन् ।

विशिष्ट अतिथिद्वय वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतम र पशु सेवाविज्ञ केन्द्र प्रमुख खत्रीले वराहक्षेत्रको आर्थिक उन्नतिमा संस्थाले योगदान दिएको भन्दै अनुदानले स्थानीय किसानलाई अझ बढी उत्पादकत्व बढाउन ठूलो हौसला मिल्ने बताए । २०५५ सालमा स्थापना भएको महिलाहरूको सहकारीले दैनिक २ हजार ५ देखि ३५ सय लिटर सङ्कलन गरी दूध बेचेर वार्षिक १० करोडको आम्दानी गरिरहेको व्यवस्थापक बाबुराम खत्रीले बताए । सीता पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष दीपक कार्कीले गरेका थिए ।