विजयपुर । वराह सहकारी पीडित सङ्घर्ष समिति धरानले वराह सहकारी सञ्चालकहरूले इमान्दारिता नदेखाएको निष्कर्ष निकालेको छ । समितिले तीनभित्र सञ्चालकलाई उपस्थित हुन पत्राचार गर्दै अनुरोध गरेको छ ।

शुक्रबार समितिले विज्ञप्ति जारी गर्दै सञ्चालकलाई उपस्थित हुन अनुरोध गरेको हो । समितिका अध्यक्ष श्यामप्रसाद ढकालले सहकारीका उपाध्यक्ष विष्णुमाया लामिछाने वि.क.लाई सम्बोधन गर्दै उपस्थित भई प्याकेजमा समस्या समाधान गरिदिने सम्बन्धमा पत्राचार गरेका छन् । समितिले सहकारी सञ्चालकले ६ महिनासम्म सम्झौता कार्यान्वयन गर्न कुनै प्रकारको तदारुकता, इमान्दारिता, विश्वसनीयता नदेखाएको जनाएको छ । 

समितिले पत्र प्राप्त भएको मितिले तीन दिनभित्र उपस्थित हुन पनि अनुरोध गरेको छ । पत्रमा कानूनी समस्याहरूलाई प्याकेजमै समाधान गरी ठोस व्यावसायिक योजनासमेत पीडितहरूसमक्ष राखिदिन अनुरोध गरेको छ । समितिले उपस्थित नभई कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी सञ्चालकले लिनुपर्ने उल्लेख गरेको छ ।

समितिले वराह बचत तथा ऋण सहकारी संस्था लि., वराह ग्रुप अफ कम्पनीका अध्यक्षलगायत सञ्चालकहरूले सङ्घर्ष समितिसँग २०७९ पुस १८ गते भएको त्रिपक्षीय सम्झौता कार्यान्वयन नगरेको जनाएको छ । व्यावसायिक प्रतिष्ठानहरूलाई सञ्चालन गर्ने, आवश्यकताअनुसार सञ्चालकहरू र कम्पनीहरूको नाममा रहेको जग्गाहरूसमेत बिक्री वितरण गर्दै व्यवसाय सञ्चालन गरी पीडितहरूलाई भुक्तानी गर्ने सम्झौता गरेको उल्लेख गरिएको छ ।