सीमा क्षेत्रबाट अवैध रूपमा नेपालमा भित्र्याइ गुणस्तरहीन तोरीको तेलको नेपाली बजारमा विक्री भइरहेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग उक्त कार्य नगर्न नगराउन सूचना जारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको विभागले इजाजत नलिई गुणस्तरहीन तोरीको तेल अवैध तरिकाले भित्र्याई तराईका बजारहरूमा बिक्री वितरण भैरेकोले नेपाली उद्योगहरू बन्द हुने स्थितिमा पुगेको भन्दै नेपाल चामल, तेल, दाल उद्योग संघले पत्र पठाएपछि उक्त कार्य नगर्न सूचना जरी गरेको हो ।
उक्त विभागले जारी गरेको उक्त सूचनामा अवैध रूपमा नेपाल भित्रिएको कुनै पनि सामग्री सञ्चय, ढुवानी, थोक वा खुद्रा बिकी वितरण गरेको फेला परेमा उपभोक्ता संरक्षण ऐन, २०७५, एवं अन्य प्रचलित कानुन बमोजिम कडा कारबाही हुने जानकारी समेत गराएको छ ।
विभागले इजाजत नलिई अवैध रूपमा नेपालको भित्र्याइ बजारमा बिक्री वितरण गरेको, भण्डारण गरेको वा ढुवानी गर्ने कार्य गरेको जानकारी भए विभागको गुनासो पोर्टल वा टोल नम्बर ११३७ मा सूचना उपलब्ध गराउन समेत अनुरोध गरेको छ ।
नेपाल भारतको खुल्ला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा तेल नेपाल भित्र्याइ सीमा नजिकका नेपाली बजारहरूमा विक्री वितरण हुँदा नेपालमा रहेका उद्योगहरू धरासायी भएको नेपाल चामल, तेल, दाल उद्योग संघको गुनासो रहेको छ ।