टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् ।
जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन् ।
एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गरका हुन् ।
टर्कीको झण्डा फहराउँदै उत्साही समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले राष्ट्र र जनतालाई धन्यवाद दिएका छन् ।
उनले भने, ‘हामीले हाम्रो राष्ट्रको पक्षमा राष्ट्रपति चुनावको दोस्रो चरण पूरा गर्यौं, म यस किसिमको प्रजातान्त्रिक अभ्यास भएकोमा मेरो राष्ट्रप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
‘मे १४ र मे २८ को दुवै निर्वाचनका विजेता हाम्रा ८ करोड ५० लाख नागरिक हुन्,’ उनले दुई चरणको निर्वाचनलाई उल्लेख गर्दै भने ।
उता निर्वाचनमा पराजित प्रतिद्वन्दी किलिचदारोग्लुले राजधानी अङ्कारामा रहेको आफ्नो पार्टीको मुख्यालयमा बोल्दै टर्कीमा ‘वास्तविक प्रजातन्त्र’ नआएसम्म लडाइँ जारी राख्ने बताए ।
‘यो हाम्रो इतिहासको सबैभन्दा अनुचित निर्वाचन अवधि थियो, हामी डरको वातावरणमा झुकेका छैनौ, यो निर्वाचनमा सबै दबाबका बाबजुद जनताको अधिनायकवादी सरकार परिवर्तन गर्ने इच्छा स्पष्ट भयो,’ उनले भने ।
– रासस