विराटनगर । विराटनगर–९ ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थामा तीन हजार बढी सदस्यहरूको अढाई करोड बढी रकम जोखिममा परेको छ ।
अनेकौं बेथितिबाट गुज्रेको सहकारीले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर सहकारी ऐनअनुसार काम कारबाही नगर्दा निक्षेपकर्ताहरूको रकम जोखिममा परेको हो ।
निक्षेपकर्ताले जम्मा गरेको रकम नपाएपछि अहिले सहकारीमा भीड लाग्ने गरेको छ । विराटनगर–१ की मर्तुज अन्सारीले सहकारीमा दश लाख रुपैयाँ एक वर्षको लागि फिक्स डिपोजिट गरेकी थिइन् । उनले जम्मा गरेको अवधि पूरा भएको छ । सहकारीमा पैसा राखेको अवधि पूरा भएपछि पैसा लिन जाँदा सहकारीले पैसा दिन आलटाल गर्दै आएको उनले बताइन् । ‘बुधबार दिने समय थियो । तेही भएर सहकारी आएको थिएँ । अहिले पनि दिने कुनै छाँटकाँट देखाएन’ उनले भनिन्, ‘फेरि अर्को भाखा दिएको छ । त्यस दिन पनि पैसा दिने कुनै विश्वास छैन ।’
यसरी सहकारीमा जम्मा गरेको निक्षेप लिन आउने अन्सारी मात्र होइन । दैनिक सयौँको सङ्ख्यामा बचतर्कताहरू आउने गरेका छन् । उनीहरूलाई भाखा दिँदै सहकारीका अध्यक्ष रामबहादुर घिमिरेले पठाउने गरेका छन् ।
आज दिन्छु, भोलि दिन्छु भन्दै थुमथुमाएका अध्यक्ष घिमिरेलाई बुधबार भने निक्कै सकस पर्यो । ‘बचत रकम फिर्ता माग्न आएका तीन जनाले सामान उठाएर लगेको सुुनेको छु’–अध्यक्ष घिमिरेले भने । तीनजना बचत कर्ताहरूले निक्षेप गरेको बचत नपाएपछि कम्प्युटर र प्रिन्टर लिएर गएका छन् ।
उक्त सहकारीमा ३ हजार ५ सयबढी बचतकर्ता छन् । उनीहरूले २ करोड ५० लाख बचत गरेको अध्यक्ष घिमिरेले बताए । ‘सहकारीले ३ हजार ५ सय बचतकर्ताको २ करोड ५० लाख बचत फिर्ता दिनुपर्नेछ’ घिमिरेले भने, ‘ऋण लगानीमा साढे ५ करोड छ । अहिले व्यवस्थापक नभएको कारणले अरू हिसाबको यकिन गर्न सकिएन ।’
सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले सहकारीका मेनेजर तीन महिनादेखि कार्यालय छोडेर हिँडेको कारण समस्या भएको बताए । ‘हिसाब फरफारक गर्नका लागि रजिष्ट्रार कार्यालयबाट समिति निर्माण भएको छ र हिसाब हेर्ने काम भइरहेको छ । पहिले हिसाब छानबिन नगरिकन राष्ट्रिय सहकारी बैङ्कले पैसा रिलिज नदिएको कारणले पनि बचतकर्ताको रकम फिर्ता दिन समस्या भयो । रिसाएर, जङ्गिएर र तात्तिएर हुने केही होइन’ उनले भने, ‘मुलुकमा आर्थिक तरलता छ । यस्तो अवस्थामा पनि हामीले बचतकर्तालाई केही रकम फिर्ता गरिरहेका थियौँ । पाउनु पर्ने भुक्तानी पनि बैङ्कबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको हो ।’
उनले सहकारीका मेनेजर लोचन राईले ३५ लाखभन्दा बढी पैसा हिनामिना गरेको र घर बेचेर दिन्छु भनेको पनि सुनाए । ‘हामीले समयमै बचत फिर्ता दिन नसक्दा दुःख लागेको छ’ उनी भन्छन्, ‘भोलिको कुरा के हुन्छ हेरौँ ।’
सहकारीका बचतकर्ता विराटनगरका भागवत नेपालले सहकारी परिवारले चलाएको कारण समस्या भएको बताए । ‘यो सहकारी अध्यक्षको एकलौटी हो । उहाँका छोरा, बुहारी राखेर चलाएका थिए । सहकारीमा २५ जना मान्छे फरक–फरक चाहिन्छ । तर, यहाँ कागज मात्रै भेला गरिएर सहकारी गोजीको बनाइयो’ उनले भने, ‘हामीले बचत सङ्कलनमा गएका बचतकर्तालाई जम्मा गर्न दिएको पैसा फिर्ता पाउन किन ढिलो भयो ? व्यवस्थापक लोचन राईलाई देखाएर सञ्चालक समिति पन्छिन पाउँदैन । बचतकर्ताको पैसा जसरी पनि सञ्चालक समिति र अध्यक्षले दिनुपर्छ ।’
सहकारीमा बचत रकम फिर्ता लिन आएका केही व्यक्तिले भने कम्प्युटर, प्रिन्टर र बस्ने टुलहरू लिएर हिँडेका छन् । उक्त सहकारीको सञ्चालक समितिका उपाध्यक्ष सूर्यबहादुर कार्की, सचिव लालसुन्दर राई, सदस्यहरू राजेन्द्र थापा, शुभद्राकुमारी भट्टराई, विक्रम कार्की र नीरा सुवेदी हुन् । गत जेठ ५ गते सोमबार बसेको सहकारीको सञ्चालक समिति बैठकले बचतकर्ताको रकम फिर्ता गर्न सबैले सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै उक्त सहकारीको शाखाहरू बेलबारी र नेताचोकमा समेत रहेको छ ।