धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा लागूऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा डिएसपी डम्बर थापाले लागूऔषध नियन्त्रण ऐन २०३३ का बारेमा जानकारी गराउँदै लागूऔषध प्रयोगबाट हुने नकारात्मक प्रभाव र असरहरू, लागूऔषध क्रियाकलापमा संलग्न हुनेहरूलाई दण्ड सजाय, लागूऔषध प्रयोगबाट समाजमा पर्ने पर्ने नकारात्मक असरहरूलगायतको विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा सहिदभूमि गाउँपालिकाका वडाध्यक्षहरू, वडासचिवहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक एवम् कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवाहरू, विभिन्न सामाजिक सङ्घ–संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मीहरूलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाका उपप्रमुख सावित्रा राईले बढी गरिबी, अशिक्षा, आर्थिक अभाव, पछौटेपन र विकासमा पछि परेकाले  बाध्यात्मकरूपमा आयआर्जनको मुख्य माध्यमका रूपमा यहाँका किसानले गाँजाखेती रोजेको बताए । उनले त्यस्ता किसानलाई अन्य वैकल्पिक खेतीतर्फ आकर्षित गरी लागूऔषधजन्य खेतीपातीमा लागेका किसानलाई कानूनबाट बञ्चित गराउनु पर्नेमा जोड दिए । उनले त्यसो भयो भने लागूऔषधका सबैखाले क्रियाकलापबाट मुक्त राख्न सकिने धारणा राखेका थिए ।

साथै उनले किशोर किशोरी तथा युवाहरू अन्य लागूऔषधजन्य क्रियाकलापमा संलग्न हुँदा मानव संसाधनको विकासमा समेत असर पर्ने भएकाले जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत सबैको सहकार्य र समन्वयबाट लागूऔषध उन्मूलनमा लाग्नुपर्नेमा जोड दिए ।  त्यसैगरी कार्यक्रममा सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले लागूऔषध समूहभित्र गाँजालाई राखिए पनि यसबाट धेरै फाइदा रहेको बताए । उनले गाँजा खेतीबाट आर्थिक समृद्धि हासिल गर्नसक्ने भए तापनि मौजुदा कानूनलाई पालना गर्नुपर्ने कर्तव्य सबैको भएको बताए । अध्यक्ष राईले भने, ‘खाल्सा क्षेत्रमा भइरहेको गाँजा खेतीलाई वैकल्पिक व्यवसाय गरेर न्यूनीकरण गर्दै लैजानुपर्छ ।’

त्यसैगरी धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले समाजमा शान्ति सुव्यवस्था र सदाचार कायम राख्नका लागि  मौजुदा कानूनका विरुद्ध कोही पनि जान नहुने बताए । उनले लागूपदार्थजन्य कुलतबाट सबैलाई मुक्त राख्नुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मका प्रमुख दीपक बलामी मगरलगायतले सुरक्षाकर्मीहरू मात्र प्रहरी हैनन्, समुदायका आम नागरिक पनि प्रहरी नै भएकाले कानून विपरीत हुने क्रियाकलापका विरुद्ध सबै सचेत भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीलगायतले मन्तव्य राख्दै कार्यक्रमका लागि धन्यवाद व्यक्त गरेका थिए । जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजना, सहिदभूमि गाउँपालिका धनकुटाको समन्वयमा भएको कार्यक्रम सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा र सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाले सहकार्य गरेको थियो ।