विराटनगर । विराटनगर – ९ ट्राफिक चोकमा मुख्य कार्यालय रहेको धरणीधर बहुमुखी सहकारी संस्थामा तीन हजार बढी सदस्यहरूको अढाइ करोड बढी रकम जोखिममा परेको छ । 

अनेकौँ बेथितिबाट गुज्रेको सहकारीले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर सहकारी ऐन अनुसार काम कारबाही नगर्दा निक्षेपकर्ताहरूको रकम जोखिममा परेको हो । 

निक्षेपकर्ताले जम्मा गरेको रकम नपाएपछि अहिले सहकारीमा भिड लाग्ने गरेको छ । विराटनगरका – १ का मर्तुज अन्सारीले सहकारीमा दश लाख रुपैयाँ एक वर्षको लागि फिक्स डिपोजिट गरेका छन् । उनले जम्मा गरेको अवधि पुरा भएको छ । सहकारीमा पैसा राखेको अवधि पुरा भएपछि पैसा लिन जाँदा सहकारी दिन आलटाल गर्दै आएको उनले बताइन् । ‘बुधबार दिने समय थियो । त्यही भएर सहकारी आएको थिए । अहिले पनि दिने कुनै छाटकाट देखाएन,’ उनले भने, ‘फेरी अर्को भाका दिएको छ । त्यस अवधिमा पनि पैसा दिने कुनै विश्वास छैन ।’

यसरी सहकारीमा जम्मा गरेको निक्षेप लिन आउने अन्सारी मात्र होइन । दैनिक सयौँको सङ्ख्यामा बचतकर्ताहरू आउने गरेका छन् । उनीहरूलाई भाका दिँदै सहकारीका अध्यक्ष रामबहादुर घिमिरे पढाउने गरेका छन् । 

आज दिन्छु, भोलि दिन्छु भन्दै थुमथुम्याएका अध्यक्ष घिमिरेलाई बुधबार भने निक्कै सकस पर्‍यो । ‘बचत माग्न आएका तीन जनाले सामान उठाएर लगेको सुनेको छु,’ अध्यक्ष घिमिरेले भने । तीन जना बचत कर्ताहरूले निक्षेप गरेको बचत नपाएपछि कम्प्युटर र प्रिन्टर लिएर गएका छन् । 


उक्त सहकारीमा ३ हजार ५ सय बढी बचतकर्ता छन् । उनीहरूले २ करोड ५० लाख बचत गरेको अध्यक्ष घिमिरेले बताए । ‘सहकारीमा ३ हजार ५ सय बचतकर्ताको २ करोड ५० लाख बचत फिर्ता दिनुपर्नेछ,’ घिमिरेले भने, ‘ऋण लगानीमा साढे ५ करोड छ । अहिले व्यवस्थापक नभएको कारणले अरु हिसाबको यकिन गर्न सकिएन ।’ 

सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले सहकारीका मेनेजर तीन महिनादेखि कार्यालय छोडेर हिँडेको कारण समस्या भएको बताए । ‘हिसाब फरफारक गर्नका लागि रजिष्टार कार्यालयबाट समिति निर्माण भएको छ र हिसाब हेर्ने काम भइरहेको छ । पहिले हिसाब छानबिन नगरिकन राष्ट्रिय सहकारी बैंकले पैसा रिलिज नदिएको कारणले पनि बचत फिर्ता दिन समस्या भयो । रिसाएर, जङ्गिएर र तातिएर हुने केही होइन,’ उनले भने, ‘मुलुकमा आर्थिक तरलता छ । यस्तो अवस्थामा पनि हामीले बचतकर्तालाई केही रकम फिर्ता गरिरहेका थियौँ । पाउनु पर्ने भुक्तानी पनि बैंकबाट रोक्का भएको कारणले फिर्ता दिन नसकेको हो ।’

उनले सहकारीका मेनेजर लोचन राईले ३५ लाख भन्दा बढी पैसा हिनामिना गरेको र घर बेचेर दिन्छु भनेको पनि सुनाए । ‘हामीले समयमै बचत फिर्ता दिन नसक्दा दुःख लागेको छ,’ उनी भन्छन्, ‘भोलिको कुरा के हुन्छ हेरौँ ।’

सहकारीका बचतकर्ता विराटनगरका भागवत नेपालले सहकारी परिवारले चलाएको कारण समस्या भएको बताए । ‘यो सहकारी अध्यक्षको एकलौटी हो । उहाँका छोरा, बुहारी राखेर चलाएका थिए । सहकारीमा २५ जना मान्छे फरक फरक चाहिन्छ । तर, यहाँ कागज मात्रै भेला गरिएर सहकारी गोजीको बनाइयो,’ उनले भने, ‘हामीले बचत संकलनमा गएका बचतकर्तालाई तुरून्ता–तुरुन्तै दिएको पैसा फिर्ता पाउन किन ढिलो भयो । व्यवस्थापक लोचन राईलाई देखाएर सञ्चालक समिति पन्छिन पाउँदैन । बचतकर्ताको पैसा जरी पनि सञ्चालक समितिले अध्यक्षले दिनुपर्छ ।’

सहकारीमा बचत लिन आएका केही व्यक्तिले भने कम्प्युटर, प्रिन्टर र बस्ने टुलहरू लिएर हिँडेका छन् । उक्त सहकारीको सञ्चालक समितिका उपाध्यक्ष सूर्यबहादुर कार्की, सचिव लालसुन्दर राई, सदस्यहरू राजेन्द्र थापा, शुभद्रा कुमारी भट्टराई, विक्रम कार्की र नीरा सुवेदी हुन् । गत जेठ ५ गते सोमबार बसेको सहकारीको सञ्चालक समितिको बैठकले बचतकर्ताको रकम फिर्ता गर्न सबैले सहयोग गर्ने निर्णय गरेको थियो । यस्तै उक्त सहकारीको शाखाहरू बेलबारी र नेता चोकमा समेत रहेको छ ।