दक्षिण अमेरिकी देश गुयानाको बालिका अध्यायन गर्ने एक स्कुलमा आइतबार राति भएको आगलागी हुदाँ कम्तीमा १९ बालबालिकाको मृत्यु भएको छ ।

गुयानाका सञ्चारमाध्यमहरूका अनुसार गुयानाको महदिया माध्यमिक विद्यालयमा भएको आगलागीमा परी १९ जनाको मृत्यु भएको बताएका छन्  । नेसनल फायर डिपार्टमेन्टका प्रवक्ताले सोमबार भीषण आगलागीका कारण देशमा हलचल मच्चिएको बताएका छन् ।

घटनामा परी कम्तीमा नौ जना घाइते भएका छन् । एक जनालाई उद्धार गरिएको छ, उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे त्यहाका संञ्चारमाध्यम हरूले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा १८ बालिका र एक बालक रहेका छन् । गुयानाका राष्ट्रपति इरफान अलीले घटनालाई दुःखद, पीडादायी र भयावह बताएका छन् । देशको राजधानी जर्जटाउनबाट करिब २०० माइल टाढा रहेको महदियाको पहाडी क्षेत्रमा रहेको इनर सिटी हाइस्कुलमा आइतबार राति ११ः३० बजेपछि आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अधिकारीहरुका अनुसार सरकारले स्थानीयलाई सहयोग गर्न स्वास्थ्यकर्मी, उपकरण र विमानसहितको पूर्ण मेडिकल इमर्जेन्सी कार्ययोजना तयार पारेको छ । गम्भीर घाइतेलाई केही घण्टाभित्रै हेलिकप्टरबाट जर्जटाउन लगिएको थियो । अन्यलाई महदिया जिल्ला अस्पतालमा भर्ना गरिएको छ।