अमेरिकाकाे  मध्यपश्चिम तथा दक्षिणी राज्यमा  आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ । आँधीमा परी टेनेसीमा कम्तीमा नौ जना अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको स्थानिय सञ्चारमाध्यमले बताएका छन् । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ । 

शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् । सर्वसाधारणका घरका पर्खाल भत्किएका छन् । रुखविरुवा जरैदेखि ढलेका छन्भने मोटरकारहरू उत्तानो परेका छन् । विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त भएको छ । 

अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इण्डियाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन् । इलिनोइमा दर्शकहरूले खचाखच भएको एउटा साङ्गीतिक कार्यक्रमस्थलको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार इलिनोइको क्रफोर्ड काउन्टीमा थप तीन जनाको मृत्यु भएको छ । त्यहाँ एक सय परिवार विस्थापित भएका छन् । आँधी प्रभावित राज्यका पाँच लाख ९० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका छन् ।