सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा १० दिनसम्म सञ्चालन हुने  ‘धरान एक्स्पो–२०७९’ आज औपचारिक उद्घाटन भएको छ । 

 धरान–१६ स्थित रङ्गशालामा फागुन ११ गते (आज) देखि २० गतेसम्म सञ्चालन हुने उक्त एक्स्पोको प्रदेश १ का  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका हुन्। उद्घाटन समारोहमा बेल्दै मुख्यमन्त्री कार्कीले आर्थिक विकासका लागि प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कार्यहरूलाई आफूले गम्भीर रूपमा लिएको बताए । उनले असारमा बजेट बनाउँदा नेपालका केही ठुला घरानलाई सहयोग पुग्ने गरी र धेरै उद्योगलाई समाप्त पार्ने गरी बजेट बनाउने प्रयास भएकोले पनि औद्योगिक क्षेत्र धारासायि बनेको बताए । 

सुस्ताउँदै गएको  बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ  आयोजना गरिएको एक्स्पोमा एक सय ३० भन्दा बढी स्टलहरूमा कृषि तथा औद्योगिक उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्त, तयारी कपडा र घरेलु उत्पादनका सामानहरू राखिएका छन् । 

 १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको एक्स्पोमा दैनिक ३० हजार अवलोकनकर्ता आउने आयोजकको अपेक्षा राखिएको छ ।  उद्घाटन समारोहमा  उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष रामचन्द्र सांघाही, धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलगायतले सम्बोधन गरेका छन् ।