धरान । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा आज (बिहीबार) बाट सुरु हुनलागेको धरान एक्स्पोमा भारत, पाकिस्तान र बङ्गलादेशका १५ वटा स्टल राखिने भएको छ ।

ती देशबाट छालाका वस्तुसम्बन्धी स्टल रहने अध्यक्ष विजय श्रेष्ठले बुधबारको पत्रकार सम्मेलनमा बताए । ‘भारत, पाकिस्तान र बङ्गलादेशबाट १५ वटा स्टल रहनेछन्’ उनले भने, ‘छालाका वस्तुसम्बन्धी स्टल आउँदै छन् ।’ फागुन २० गतेसम्म चल्ने एक्स्पोमा तीनवटा फरक–फरक विषयमा सेमिनार पनि गरिँदै छ ।

फागुन १३ गते स्वरोजगारसम्बन्धी सेमिनार गरिँदै छ । त्यस्तै १६ गते खानेपानीको दीर्घकालीन समाधानका विषयमा छलफल र १७ गते प्रदेश १ लाई पर्यटकीय हब बनाउन प्रदेशस्तरीय सम्मेलन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा धरानका साना उद्योगहरूबाट उत्पादित वस्तुहरूको पनि प्रवद्र्धन गरिने भएको छ । धरानमा सिकुटी, अचार तथा धरान टीका उद्योगहरू सञ्चालनमा छन् । यस्ता उद्योगहरू सीमित लगानीमा स्थापित छन् । तर, बाहिर आउन सकेका छैनन् ।

‘यस्ता उद्योगको प्रवद्र्धन गर्ने पनि हाम्रो नीति हो’–उनले भने । साना उद्योगहरूलाई प्रवद्र्धन गर्नसके धरानको आयस्तर वृद्धि हुने उनको भनाइ छ । एक्स्पोमा हरेक दिन राष्ट्रिय कलाकारसहितको साङ्गीतिक कार्यक्रम राखिएको कार्यक्रमका मूल संयोजक एवम् प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोको सुरक्षाका लागि सिसीटिभी जडान गरिएको उनले जानकारी दिए ।

एक्स्पो प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । १० दिन लाग्ने एक्स्पोमा १ सय २३ वटा स्टल रहेका छन् । धरानको व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले पहिलो पटक एक्स्पो गर्न लागिएको हो । एक्स्पोमा करिब १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।