विजयपुर । एनसेलले इन्जिनियरिङ अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान तथा सम्मान गरेको छ ।

एनसेलको आजियाटा लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका १८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । एनसेलका अनुसार १८ क्याम्पसका उत्कृष्ट १८ विद्यार्थीलाई छात्रवृत्ति र ६ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ सङ्कायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।  २०७९ का लागि १८ वटा शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा छात्रवृत्ति प्रदान गरेको हो ।

साथै उत्कृष्ट नतिजा ल्याई उत्तीर्ण  ६ विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेको हो । ५ सङ्कायका १–१ जना र पाँचै सङ्कायका छात्राहरूमध्येबाट उत्कृष्ट एक छात्रालाई उत्कृष्टता सम्मान प्रदान गरिन्छ । यी छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ । उनीहरूलाई पुल्चोक क्याम्पस प्रमुख प्रा.डा. इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरूपमा सम्मान प्रदान गरे ।

एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज विजनेस अफिसर अदिल इस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका कार्यवाहक डीन प्रा.डा. सुशील बज्राचार्यले एनसेलले सञ्चारजगत्मा मात्रै नभएर सामाजिक कार्य पनि गर्दै आएको बताए  । एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले पुल्चोक क्याम्पससँग २०७१ सालदेखि छात्रवृत्ति एवम् सम्मान गर्दै आएको बताए ।