धरान । धरानको कृषिउपज बजारस्थलको स्थापनायता सुन्तलाको कारोबारमा नयाँ रेकर्ड कायम भएको छ । कृषिउपज बजारस्थलले सुन्तलाको ‘कारोबार र मूल्यका हिसाब’ ले इतिहासमै नयाँ रेकर्ड कायम भएको जनाएको छ ।

कृषिउपज बजारस्थल २०५३ सालमा स्थापना भएको हो । स्थापना भएयता थोक मै ‘ए ग्रेड’ को सुन्तला २ सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । त्यस्तै कारोबारको हिसाबले पनि उच्च कारोबार भएको छ ।

यसवर्ष ६ हजार २ सय ९० मेट्रिक टन सुन्तला बिक्री भएको बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । उनले भने, ‘कारोबार र मूल्यका हिसाबले इतिहासमै पहिलो रेकर्ड हो, यस्तो हालसम्म भएकै थिएन ।’ उनका अनुसार ‘ए’ ग्रेडको सुन्तला न्यूनतम् पनि १ सय २० रुपैयाँभन्दा कम कहिल्यै भएन । ‘विगतमा पुसतिर ८० रुपैयाँसम्म झथ्र्यो तर, यसपटक त्यस्तो भएन । राम्रो सुन्तला १ सय २० रुपैयाँ प्रतिकेजीमा बिक्री भयो’ उनले भने, ‘यस्तो इतिहासमा हालसम्म पनि भएको थिएन ।’

कारोबारका हिसाबमा पनि गत आर्थिक वर्षको भन्दा १ हजार ५१ मेट्रिक टनले बढी हो । गत आर्थिक वर्षमा स्वदेशी सुन्तला ५ हजार २ सय ३९ मेट्रिक टन कारोबार भएको थियो । व्यवस्थापक भट्टराईका अनुसार ६३ करोड रुपैयाँ मूल्य बराबरको सुन्तलाको कारोबार भएको हो । चालु आर्थिक वर्षमा हालसम्म ८४ करोड रुपैयाँको कारोबार भइसकेको छ । जुन गत वर्षभन्दा २१ करोडले बढी हो । गत वर्ष ‘ए’ ग्रेडको सुन्तलाको थोक मूल्य १ सय २० रुपैयाँ प्रतिकेजीभन्दा बढीमा बिक्री भएको थिएन । अहिले पनि दैनिक ४ देखि ५ टन सुन्तला कृषिउपज बजार स्थलमा भित्रिने गरेको छ ।

धरानमा थोक व्यवसायी टीकाराम श्रेष्ठका अनुसार आफूले मात्रै दैनिक तीन टनका हिसाबले सुन्तला बिक्री गरेको थिए । ‘पुस र माघमा दैनिक दुई गाडी बिक्री गरेँ, एक गाडी बराबर करिब डेढ टन हुन्छ’–उनले फोनसम्पर्कमा भने । उनका अनुसार आफूले भोजपुर क्षेत्रको सुन्तला बढीमात्रामा बिक्री गर्दै आएको छु । सुन्तलाको मुख्य सिजन मङ्सिर, पुस र माघ मानिन्छ । कृषिउपज बजारस्थलका अनुसार सुन्तला कात्तिकदेखि चैतको पहिलो सातासम्म भित्रिन्छ ।

धरानमा पहाडी क्षेत्रअन्तर्गत धनकुटाको खोकु, छिन्ताङ, मौनाबुधुकको सुन्तला भित्रिने गरेको छ । त्यस्तै भोजपुर क्षेत्रबाट पनि सुन्तला भित्रिने गरेको छ । यसपटक असिना पानी कम परेकाले पनि सुन्तलाको उत्पादन विगतको भन्दा राम्रो भएको किसानको भनाइ उद्धृत गर्दै व्यवस्थापक भट्टराई बताउँछन् । ‘भोजपुरमा साह्रै राम्रो उत्पादन भयो, हावापानीले पनि बिगारेनछ’ उनले भने, ‘सडक नेटवर्कका कारणले पनि सजिलो हुँदा त्यस क्षेत्रबाट सुन्तला धेरै आयो ।’

कृषिउपज बजारस्थलमा मङ्सिरदेखि माघसम्म दैनिक ४५ देखि ५५ मेट्रिक टन सुन्तला भित्रिने गरेको छ । अन्य समयमा भने आंशिक मात्रै आउने गरेको छ । यहाँबाट सुन्तला प्रदेश १ का विभिन्न सहरसँगै मधेश प्रदेशका विभिन्न स्थानसम्म पुग्ने गरेको छ भने लुकिछिपी भारत पनि पुग्ने गरेको छ ।

नेपालको सुन्तला रसिलो हुने कारण पनि अन्य देशको सुन्तलाको तुलनामा धेरै माग हुने गरेको छ । सुन्तला दैनिक भारी मात्रामा आए पनि कोल्ड स्टोरेज गर्नुपर्ने अवस्था कहिल्यै नआएको कृषिउपज बजारस्थल जनाउँछ । यस वर्ष औसतमा १ सय ३५ रुपैयाँ प्रतिकेजी सुन्तलाको मूल्य पुगेको देखिन्छ ।