धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा धनकुटाका सातवटै पालिकामध्ये सबैभन्दा बढी अङ्क ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ ।
प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ६६ दशमलव ६० अङ्क प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो । यता १ नम्बर प्रदेशका १४ जिल्लाका १ सय ३७ पालिकामध्ये धनकुटा नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ९ औँ स्थानमा परेको छ ।
कार्य सम्पादन मूल्याङ्कनमा राम्रो नतिजा आएपछि धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले खुसी व्यक्त गरे । ‘कामको मूल्याङ्कनका आधारमा तुलनात्मक रूपमा हामी राम्रो पोजिसनमा आएका छौँ’ प्रमुख तामाङले भने, ‘अब आगामी वर्ष अझै राम्रो नतिजा ल्याउने गरी काम गर्छौं ।’
आयोगले ११ वटा सूचकका आधारमा सातवटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७ सय ५३ वटै पालिकाको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो । आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार धनकुटाका सातवटा पालिकामध्ये धनकुटा नगरपालिकाले सबैभन्दा बढी र पाख्रीबास नगरपालिकाले सबैभन्दा कम अर्थात् ४७ दशमलव ०९ अङ्क पाएको छ ।
त्यस्तै छथर जोरपाटी गाउँपालिकाले ६३ दशमलव ५५, सहिदभूमि गाउँपालिकाले ६२ दशमलव २५, महालक्ष्मी नगरपालिकाले ५८ दशमलव ९४, चौबीसे गाउँपालिकाले ५४ दशमलव ६४ र साँगुरीगढी गाउँपालिकाले ५२ दशलमव ५४ अङ्क प्राप्त गरेका छन् ।
मूल्याङ्कन प्रतिवेदनअनुसार ६० प्रतिशत अङ्क कटाउने पालिकाको सङ्ख्या न्यून छ । राजस्व र व्ययको अनुमान गाउँ तथा नगरसभामा समयमै पेश गरे÷नगरेको वा समयमै पारित भए÷नभएको, राजस्व सङ्कलनको अवस्था, बजेट खर्च, कार्यप्रगति, बेरुजुको अवस्थालाई पालिकाको कार्यमूल्याङ्कनको आधार बनाइएको छ ।
त्यस्तै शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्तीर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या, खोप लगाउनुपर्ने बालबालिकालाई नियमित खोप लगाए/नलगाएको लगायत सूचकका आधारमा पालिकाको मूल्याङ्कन गरिएको छ ।
आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार कार्यमूल्याङ्कन चित्त नबुझेमा आगामी मङ्गलबारसम्म पुनरावलोकनका लागि प्रमाणसहित निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।