धरान । सुनसरीमा सजावटका लागि उत्पादन गर्ने नर्सरीमा अनपेक्षित लगानी भित्रिएको नर्सरी व्यवसायीले बताएका छन् । आधा दशक नबित्दै सुनसरीमा मात्रै १० करोडभन्दा बढी फूल तथा नर्सरीमा मात्रै लगानी भित्रिएको फूलको नर्सरी गर्दै आएका व्यवसायीले बताए ।
‘हामीले पुष्प मेला सुरु गर्दा धरानमा ४–५ वटा नर्सरी व्यवसायी थिए’ फ्लोरी कल्चर एसोसिएसनका जिल्ला सल्लाहकार तथा फूल तथा नर्सरी व्यवसायी प्रेमप्रसाद पराजुली भन्छन्, ‘पुष्प मेलामा जसले किनेर लगेका थिए, तिनीहरूमध्ये कतिपय त व्यापारी भएका छन् ।’ फूलको नर्सरीमा यति बिघ्न लगानी भित्रिनुलाई फ्लोरीकल्चर एसोसिएसनले राम्रै ठानेको छ । एसोसिएसनमा हाल २० वटा नर्सरी व्यवसायी मात्रै आबद्ध छन् । आबद्ध नभएको सङ्ख्या त्योभन्दा बढी रहेको व्यवसायी बताउँछन् । एसोसिएसनकी कोषाध्यक्ष कल्पना लिम्बूले भनिन्, ‘संस्थामा २० वटा जति आबद्ध होलान्, अरू कति त आबद्ध नै नभई नर्सरी व्यवसाय गर्दै आएका छन् ।’
उनका अनुसार ५० भन्दा बढी फूलको नर्सरी गर्ने व्यवसायी होलान् । पवित्रा नर्सरी चलाउँदै आएकी लिम्बूका अनुसार आफ्नो नर्सरीमा मात्रै करिब ६० लाख रुपैयाँभन्दा बढी लगानी लागेको छ । ‘मेरोजस्तो लगानी गर्ने थुप्रै नर्सरी व्यवसायीहरू हुनुहुन्छ, २–४ लाख रुपैयाँदेखि करोडसम्म लगानी गर्नेहरू छन्’–उनले भनिन् । धरानमा हालै पाँचौं पुष्प मेला सम्पन्न भएको छ । उक्त पुष्प मेलामा झण्डै एक दर्जन फूल तथा नर्सरी व्यवसायीहरूले आफ्नो नर्सरीको प्रवर्धनसँगै फूल बिक्री गरेका थिए ।
फ्लावर जोन एन्ड कट हाउसकी सञ्चालिका शिव बान्तवा राईले पनि नर्सरी व्यवसायमा झण्डै १६ लाख रुपैयाँ लगानी गरेकी छन् । उनले भनिन्, ‘मेरो अहिले १५–१६ लाख रुपैयाँको प्रोपर्टी भइसक्यो । सेरामिक्स गमलामा मात्रै ५ लाख रुपैयाँको लगानी भएको छ ।’ उनका अनुसार धरानमा खुलेर आउने फूल तथा नर्सरी २४ वटाभन्दा बढी छन् ।
खुलेर नआउनेको सङ्ख्या अझै धेरै हुनसक्छ । लगानीका हिसाबले करोडौंको लगानी भएको उनको दाबी छ । फूल तथा नर्सरी व्यवसायीका अनुसार सुनसरीमा बर्सेनि ३ देखि ४ करोड रुपैयाँको फूल भारतबाट आयात हुँदै आएको छ । कृषिउपज बजारस्थल धरानको आँकडाअनुसार तिहारलाई लक्षित गरी भारतबाट मात्रै डेढ लाखदेखि पौने २ लाखको हाराहारीमा फूलको माला भित्रिने गरेको छ । प्रतिमाला औसत ४० रुपैयाँमा बिक्री हुने गरेको छ । यसआधारमा डेढ लाख मालाको मूल्य मात्रै पनि ६ करोड हुन आउँछ ।
कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले भने, ‘भारतबाट मात्रै डेढ लाख माला भित्रिन्छ । स्थानीय करिब २ लाख माला बिक्री हुन्छन् । सरदर तिहारमा मात्रै साढे ३ लाख माला बिक्री भएको तथ्याङ्क छ ।’ नेपालमा सिजनमा मात्रै फूल रोप्ने प्रचलन छ । व्यवस्थापक भट्टराईले अन्य बेलामा पनि सरदर २ सयदेखि ५ सय माला बिक्री हुँदै आएको बताए ।
‘अन्य बेला बिक्री हुँदैनजस्तो हामीलाई लाग्थ्यो । तर, शीतभण्डार निर्माण भएपछि अहिले यहाँका व्यवसायीले फूल राख्ने गरेको तथ्यबाट त्यो पुष्टि हुन्छ’ उनले भने, ‘भ्यालेन्टाइन डेको बेला मात्रै पनि दुई जना व्यवसायीले ३ हजार गुलाफको फूल राखे । म त अचम्मित भएँ । गुलाफको फूल पनि यति बिघ्न बिक्री हुँदो रहेछ ।’ धरानमा बर्सेनि फूल तथा नर्सरी व्यवसायी बढ्दै गएको फ्लोरी कल्चर एसोसिएसनका जिल्ला अध्यक्ष खगेन्द्र पोखरेलले बताए । उनले भने, ‘पुष्प मेलामा फूल किन्ने कस्टमर पनि अहिले नर्सरी व्यवसायी भएका छन् ।’ उनका अनुसार आफ्नो नर्सरीमा करिब ८० लाख रुपैयाँको लगानी गरेको बताए । ‘३० हजार रुपैयाँबाट १२ वर्षअगाडि सुरु गरेको थिएँ, अहिले ८० लाखको प्रोपर्टी छ’ –उनले भने ।