विराटनगर । लघुवित्त सेवालाई सभ्य र मर्यादित बनाउदै प्रथम प्रादेशीक लघुवित्त सदस्य सम्मेलन २०७९ सम्पन्न भएको छ । विराटनगरमा सम्पन्न उक्त सम्मेलनले १४ बुँदे घोषणापत्र समेत पारित गरेको छ ।
घोषणा पत्रले ‘घरघरमा उद्यम फैलाऊ, गरिवीलाई शुन्य वनाऊ’ भन्ने नाराका साथ अघि बढ्न हालका कमी कमजोरीलाई सुधार गर्ने, ग्राहक सदस्यलाई उद्यमी तथा उद्यमशीलता वृद्धि गर्न संस्थाहरुले स्पष्ट कार्ययोजना बनाई ठोस कार्यक्रम बनाएर लागु गर्ने उल्लेख छ ।
यस्तै लघुवित्तका सदस्यहरुलाई ऋणको अति भारबाट जोगाउन कर्जाको आकारमा संस्था र सदस्य दुवै सजग भएर अघि बढ्ने, हरेक लघुवित्त तथा सहकारी संस्थाका कर्मचारीले सदस्यहरुसंगको भेटघाट बढाउने, फिल्डमा काम गर्ने लघुवित्त कर्मचारीको मनोवल उच्च राख्न असल कर्मचारीलाई वार्षिक रुपमा पुरस्कृत गर्ने, सदस्यहरुको समस्या गुनासो सुनुवाई इकाई स्थापना गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने लगायतको घोषणा गरेको छ ।
सम्मेलन आयोजक समितिका संयोजक जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डलको अध्यक्षतामा सम्पन्न एक दिने सम्मेलनको उद्घाटन महिला, वालवालिका तथा जेष्ठ नागरीक मन्त्री भगवती चौधरीले गरेकी थिईन् । सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले लघुवित्त गरिवी निवारणको लागि सेवा भावले शुरु भएको गरीबी निवारण विरुद्धको अभियान भएकोले यसवाट गरीब तथा विपन्न बर्गका महिलाहरुले कर्जा सेवा लिएर उद्यमी बनी जीवनस्तर उकास्ने बताइन् ।
कार्यक्रममा संघिय सांसद योगेन्द्र मण्डलले गरिबी निवारण र विपन्न वर्गको उत्थानको लागि नेपालको एकमात्र र प्रभावकारी कार्यक्रम लघुवित्त भएको र यसको लागि लघुवित्त गर्ने संस्था र त्यसका सदस्यहरुले यसको मुल मर्म र भावना अनुसार काम गरी लाभ लिन सक्नु पर्ने बताए ।
विकास केन्द्रका अध्यक्ष तथा लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले केही संस्थाहरुले लघुवित्तको मुल्य मान्यता अनुरुप काम नगरी मुनाफा केन्द्रित हुदै जाँदा, सदस्यहरुको उन्नतीमा जोड नदिदा र नियामक निकाय राष्ट्र बैंकले सही नीति नलिदा अहिले लघुवित्तमा विचलनहरु आएको बताए ।