कानेपोखरी । कानेपाखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम गतवर्ष इटहरीको गोर्खा डिमार्टमेण्टमा पुगिन् । मार्केटमा घुम्दै गर्दा उनको आँखा तोरीको गन्द्रुकमा पुग्यो । गुन्द्रुक कहाँ बनेको रहेछ भनेर नियाल्दा चाइनाबाट आयात भएको रहेछ ।
‘मेडइन चाइना’ लेखिएको देखेपछि कानेपाखेरी गाउँपालिकामा तोरीको उत्पादन हुने भएकाले उनलाई तोरीको गुन्द्रुक आफ्नै पालिकाका उत्पादन गर्न सकिने लाग्यो । उनी भन्छिन्, ‘कृषियोग्य भूमि भएको र तोरी उत्पादन हुने भएकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने सोच आयो । गुन्द्रुक उत्पादनमा गर्दा रोजगारी सिर्जना हुने र कृषकलाई आम्दानी पनि हुन्छ भन्ने लाग्यो त्यसैले उत्पादन गर्न सुरु गरेका छौँ ।’
गत आर्थिक वर्षमा गरेको गुन्द्रुक उत्पादन गरी ब्राण्डिङ गर्ने कल्पनालाई चालु आर्थिक वर्षमा मूर्तरूप दिइन् । पालिकाले चालु आर्थिक ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरी ‘आमाको सीप सन्तानलाई, अग्र्यानिक गुन्द्रुक मोरङलाई’ शीर्षकको कार्यक्रम लागू गरेको छ । पालिकाले कृषि समूह गठन गरेर गुन्द्रुक उत्पादनमा लागेको छ । गुन्द्रुक पालिकाले नै १ हजार रुपैयाँ प्रतिकिलो खरिद गरिदिने भएपछि कृषक हर्षित छन् । कृषक नगिन्द्र पाण्डे पालिकाले जैविक मल, बिउ, पारिश्रमिक दिएकाले उत्साहित भएको बताउँछन् । उनी भन्छन्, ‘पालिकाको कार्यक्रमले फाइदा भएको छ ।’
कृषक जमुनाकुमारी घिमिरे पालिकाले सिजनभन्दा केही ढिलो सामग्री दिएकाले समस्या भएको बताउँछिन् । उनी भन्छिन्, ‘पहिलो चरणको त राम्रो भयो । दोस्रो चरण ढिलो भएकाले तोरी फस्टाएको छैन ।’ पालिका अध्यक्ष इङ्नाम पहिलो चरणमा भएकाले ढिलो भएको र आउने वर्ष समयमै उपलब्ध गराउने बताउँछिन् । पालिकाका कृषि शाखा प्रमुख सागर पौडेलका अनुसार १९ जना कृषक गुन्द्रुक उत्पादनमा लागेका छन् । उनीहरूले वडा नं. १ देखि ६ मा ६ बिघा २ कठ्ठा क्षेत्रफलमा तोरी लगाएका छन् । उनी भन्छन्, ‘पहिलो चरणमा २ सय केजी उत्पादन भएको छ । दोस्रो चरणको काम भइरहेको छ ।’
पहिलो चरणको उत्पादित ग्रन्द्रुक बजारमा पठाउने योजना छैन । प्रचार–प्रसार ब्राण्डिङका लागि प्रदेश सरकार र सङ्घीय सरकार मुख्यमन्त्री, मन्त्री र सचिवहरूलाई उपहारको गुन्द्रुक दिने र बालकक्षाका बालबालिकालाई हप्तामा एकदिन खाजामा सुप दिने योजना रहेको छ । शाखा प्रमुख पौडेल भन्छन्, ‘बजारको अभाव छैन, थुप्रै ठाउँबाट माग आएको छ । कृषक आत्मनिर्भर बन्न सक्छन् ।’
प्याड उत्पादन गर्दै पालिका
यस्तै गाउँपालिका प्याड उत्पादनमा पनि लागेको छ । पालिकाले ‘उद्यमसँगै जनजीविका, प्याड उत्पादनमा स्वयम्सेविका’ कार्यक्रम लागू गरेको छ । पालिकाले ७ लाख लागतमा १३ जना स्वयम्सेविकालाई तालिम दिई मेसिन र प्याडका लागि आवश्यक कपडा पनि दिई प्याड उत्पादन सुरु गरेको छ । स्यवम्सेविका सिर्जना विष्ट चौधरी भन्छिन्, ‘पहिले मेसिन घुमाउनसमेत आउँदैनथ्यो । तालिमले सक्षम र आत्मनिर्भर बनाएको छ ।’
उनी यस्तो कार्यक्रमले खुसी छाएको बताउँछिन् । उनी भन्छिन्, ‘आफैले पनि प्रयोग गरेँ, आयातित प्याडभन्दा सजिलो लाग्यो ।’ उनको औषतमा दैनिक ३० वटासम्म प्याड बनाउन सकिने अनुभव छ । पालिका अध्यक्ष इङ्नाम आफै पनि लामो समय स्वयम्सेविका भएकाले कार्यक्रम ल्याएको बताउँछिन् । उनी भन्छिन्, ‘पारिश्रमिक न्यून हुन्छ । थप आर्थिक स्रोतका लागि तालिम दिइएको हो ।’
पालिकाका स्वास्थ्य शाखा प्रमुख रोहिन्द्रकुमार राजभण्डारीका अनुसार औषतमा १३ जनाले मासिक करिब १० हजार प्याड उत्पादन गर्छन् । उत्पादित प्याड सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिनेछ । अध्यक्ष इङ्नाम भन्छिन्, ‘उत्पादित प्याड आर्थिक अवस्था कमजोर भएका ऋषिदेव (दलित) बस्ती र सन्थाल बस्तीमा वितरण गर्ने योजना छ ।’ यस्तै पालिकाले ‘आफ्नै बारी कृषकलाई पोखरी’ कार्यक्रम अन्तर्गत माछा उत्पादन पनि प्रोत्साहन गरेको छ । यस कार्यक्रममार्फत् फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्य पनि पालिकाले राखेको छ । यस्तै अन्य थुप्रै उत्पादनसम्ग जोड्ने कार्यक्रम रहेका छन् । ‘कानेपोखरीका महिला, टपरी उत्पादनमा पहिला’ कार्यक्रम लागू गर्ने योजना अध्यक्ष इङ्नामले सुनाइन् । उनी भन्छिन्, ‘यो कार्यक्रमबाट महिला रोजगार हुन्छन् भने परम्परागत टपरीको संरक्षण पनि हुन्छ ।’ उनी टपरी उत्पादन गर्न थालेपछि पालिकाभित्र प्लाष्टिकका टपरी प्रयोग बन्द गर्ने बताउँछिन् ।