विजयपुर । प्रदेशस्तरीय ५ दिने पुष्प प्रदर्शनी मेला सम्पन्न भएको छ । मेलामा अपेक्षाकृत आर्थिक कारोबार नभएको आयोजकले जनाएको छ ।
फ्लोरीकल्चर एसोसिएसन नेपाल सुनसरीले आयोजना गरेको मेला आइतबार सम्पन्न भएको हो । एसोसिएन सुनसरी सचिव राजेश राईका अनुसार करिब १९ लाखको कारोबार मात्रै भएको छ ।
आयोजकले ७० लाखको कारोबार हुने अपेक्षा गरेको थियो । चौथो प्रदर्शनी मेलामा ६० लाख रुपैयाँको कारोबार भएकोमा पाचौँ मेलामा कारोबार नहुुनुमा आर्थिक मन्दी प्रमुख कारण बनेको सचिव राईले बताए । उनले भने, ‘आर्थिक मन्दीका कारणले कारोबारमा कमी आयो । पूर्वका व्यवसायी मेलामा नआउनाले पनि कारोबार घट्यो ।’ विगतका तुलना अवलोकनकर्ता नै पनि कम भएकाले पनि कारोबार घटेको आयोजकको भनाइ छ ।
मेलाका संयोजक युमेनहाङ राईका अनुसार धरान बाहिर सिन्धुली, इलाम, पशुपतिनगरलगायतका ठाउँदेखि मानिसहरू अवलोकनमा आएका थिए । एसोसिएसनका सुनसरी अध्यक्ष खगेन्द्र पोखरेलले कारोबार नभए पनि अवलोकन गर्न टाढाबाट आउँदा प्रचार–प्रसारमा सहयोग पुगेको बताए । मेलामा विभिन्न ५ सयभन्दा बढी प्रजाति फूलहरू प्रदर्शनीमा राखिएको थियो ।