विराटनगर । सीएनआई कोसी एक्स्पो २०७९ सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पो शनिबारदेखि सकिएको हो ।माघ १९ गतेबाट एक्स्पो सुरु भएको एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेको नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।
कठिन अवस्थामा हरेक कुरालाई जुटाएर पहिलो पटक आयोजना गरिएको एक्स्पो सोचेभन्दा धेरै सफल भएको उनले बताए । समापन समारोहका प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक क्षेत्र नै आत्तिएको अवस्थामा अहिले मुलुकभर विभिन्न स्थानमा भइरहेका एक्स्पो तथा प्रदर्शनीहरुले थोरै भएपनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याएको बताए । उनले सीएनआई कोसी एक्स्पोले विराटनगरको मात्रै नभई प्रदेश १ कै आर्थिक गतिविधि बढाउनुका साथै उद्योगी व्यवसायीहरुको मनोबल माथि उठाउन पनि सहयोग पु¥याएको दाबी गरे ।
मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा राष्ट्रबैंकले बैंकिङ क्षेत्रको मात्रै संरक्षण गर्न नहुने सुझाव दिए । मौद्रिक नीतिका कारण निजी क्षेत्रको मात्रै घाँटी कसिएको भन्दै राष्ट्रबैंकले अरु उद्योगी व्यवसायी र निजी क्षेत्रको विकासका लागि पनि सोच्नुपर्ने बताए । त्यसका लागि संघीय सरकारले पनि आवश्यक पहल गर्नुपर्नेमा उनले जोड दिए ।
महिला, वालवालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवति चौधरीले विराटनगरदेखि धरानसम्मको आर्थिक क्षेत्रमा औधोगिक लगानी बढाउनका लागि आफुले पनि पहल गर्ने बताइन् । आफु पनि आर्थिक रुपमा अघि बढ्ने र राज्यलाई पनि कर तिरेर योगदान गर्ने उद्योगी व्यवसायीहरुको अप्ठेरोलाई हटाउन सरकारमा आफुले पनि लविङ गर्ने जानकारी दिइन् । निजी क्षेत्रको अग्रसरता र लगानीमा आयोजना गरिएको एक्स्पोले आर्थिक गतिविधि बढाएको मन्त्री चौधरीले बताइन् । बैंकले ७ प्रतिशतमा लिएको ऋणलाई १६ प्रतिशतसम्म पु¥याएको भन्दै त्यसले अर्थतन्त्रमा नकारात्मक असर पु¥याएको उनले बताइन् ।
प्रदेश १ का सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले नेपालसहित छिमेकी देशबाट पनि उद्यमीहरु एक्स्पोमा आएर नेपालसँगको मित्रवत् सम्बन्ध कायम राख्न सघाउ पु¥याएको बताए । निजी क्षेत्रको प्रयासमा प्रदेश सरकारले पनि सकेको सहयोग गरेको जानकारी दिंदै एक्स्पोले आर्थिक मन्दीलाई चिर्नका लागि ठुलो योगदान गरेको दाबी गरे ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा हुने आगामी एक्स्पो अझ राम्रो र व्यवस्थित रुपमा आफ्नै प्रदर्शनी स्थलमा गर्नका लागि महानगरपालिकाले सकेको सहयोग पु¥याउने विश्वास दिलाए ।
सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले एक्स्पो अत्यन्तै सफल भएको दाबी गरे । उनले महिला उद्यमी, साना तथा लघु, घरेलु उद्यमीहरुको उत्साहपूर्ण सहभागीताका लागि स्थानीय तहहरुले गरेको सहयोग धेरै अर्थपूर्ण रहेको बताए । साना उद्यमीहरुले निशुल्क रुपमा स्टलहरु प्राप्त गरेर आफ्ना उत्पादन बजारमा पु¥याउन पाएको भन्दै एक्स्पो अविस्मरणीय रहेको बताए ।
सगरमाथादेखि केचनासम्मको झल्को आउने गरी प्रदेश १ लाई चिनाउन र विभिन्न जातजातीका खाना परिकारको प्रवद्र्धनमा एक्स्पो महत्वपूर्ण अवसर बनेको जानकारी दिए । उनले एक्स्पोलाई असफल पार्ने उदेश्यले विभिन्न पक्षहरु लागेर अदालतसम्म पु¥याएपनि त्यसले आयोजक टिमलाई अझ सक्रिय भएर काम गर्न सहयोग पुगेको टिप्पणी गरे ।
समापन कार्यक्रममा एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले एक्स्पोलाई प्रवद्र्धन गर्न सुरुवातदेखि नै मोटर ¥याली लगायतका गतिविधि गरिएकोले प्रचार प्रसार प्रभावकारी रहेको बताइन् । साथै साँस्कृतिक कार्यक्रमहरुले स्थानीय कलाकारहरुलाई पनि सहयोग पुगेको जानकारी दिइन् ।
एक्स्पोको उद्घाटनमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने नेपाल मुण्डा समाज, थारु कला केन्द्र र नेपाल बाँतर सरदार समाजलाई सम्मान गरिएको थियो । त्यसैगरी प्रायोजकतर्फ केएल दुगड ग्रुप, जयश्री चप्पल, बैंकिङ पार्टनर सिद्धार्थ बैंक र मुख्य प्रवद्र्धक विराटनगर महानगरपालिकालाई सम्मानपत्र प्रदान गरिएको थियो । एक्स्पो सफल पार्न सहयोग गर्ने सीएनआई युवा उद्यमी मञ्चका पदाधिकारीहरु र युवा उद्यमीहरु, महानिर्देशक विजयहरि शर्मा लगायतलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । एक्स्पोलाई भव्यताका साथ सम्पन्न गर्न सवै क्षेत्रको भूमिका रहेको भन्दै एक्स्पोका संयोजक राजेन्द्र राठीले धन्यवाद ज्ञापन गरेका थिए ।