धरान । धरानमा अडिटरसम्बन्धी काम गर्दै आएका पुण्य गौतमले केही समयअघि सेवा गरेबापत सेवाग्राहीबाट ५ सयका भारतीय नोटहरू प्राप्त गरे । तर, इन्कार गर्न सकेनन् ।
उनले सेवाग्राहीबाट पाँच सय दरका २० वटा नोटहरू प्राप्त गरेका थिए । त्यसलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा चलनचल्तीका भाउमा १६ हजार रुपैयाँ हुन आउँछ । त्यसमध्ये १६ वटा नोटहरू नेपालमै कार्यरत एक भारतीय व्यापारीसँग साटे । ‘४ वटा नोटहरू आफैसँग राखेको थिएँ । एक दिन संयोगवश बजारमा गई ५ सयको भारतीय नोट दिँदा व्यापारीले ७ सय ५० रुपैयाँभन्दा नदिने भनी भन्यो’ उनले भने, ‘म त छक्क परेँ । के हो यो ? नेपाली रुपैयाँ स्ट्रोङ भएको त होइन होला ।’ अहिले नेपालमा भारतीय रुपैयाँहरू अवमूल्यन भएको हो या के हो भन्ने विषयमा उनी अन्यौलमा छन् । कानूनी हिसाबमा नेपालमा भारतीय रिजर्भ बैङ्कले ५ सयभन्दा माथिका नोटहरूलाई नोटबन्दी गरेपछि नेपाल राष्ट्र बैङ्कले पनि ‘गैरकानूनी’ मानेको छ ।
राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले आर्थिक वर्ष २०७५/०७६ मा पत्राचार गर्दै २ सय, ५ सय, एक हजार र २ हजार रुपैयाँका भारतीय नोटहरू विनिमय नगरिने उल्लेख छ । बैङ्कले ‘नेपाली नागरिकले भारतीय रुपैयाँ भारतबाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन पाइने छैन’ भनी उल्लेख गरेको छ । यस्तो अवस्थामा नेपालमा कसरी भारतीय ठूला नोटहरू आइरहेका छन् भन्ने प्रश्न उब्जिएको छ । धरानका एक प्रतिष्ठित व्यापारी भन्छन्, ‘सुन तथा अन्य दुई नम्बरी कारोबारबाट यस्ता रकमहरू भित्रिएको आशङ्का गर्न सकिन्छ ।’ उनका अनुसार भारतीय नोटहरू विभिन्न माध्यमबाट आएका कारणले नै बजारमा भारतीय नोटको मूल्य गिर्दै गएको हो ।
सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको आपूर्ति बढ्दा कारोबार गर्दा भारतीय रुपैयाँको भाउ घटेको व्यापारीहरू स्वयम् बताउँछन् । अहिले १ सय रुपैयाँ दरका भारतीय नोटको मूल्य १ सय ५५ को हाराहारीमा मात्रै कारोबार भइरहेको छ । धेरै व्यापारीका अनुसार सुन तथा गाँजालगायतका सामग्रीको चोरी निकासी बढेकाले पनि नेपाली बजारमा भारतीय रुपैयाँको आपूर्ति बढेको छ ।
तर, राष्ट्र बैङ्कको स्पष्ट निर्देशन हुँदाहुँदै पनि कारोबार गर्नेहरूमाथि निगरानी बढाउन नसकेकोप्रति व्यापारीहरू चिन्ता व्यक्त गर्छन् । नेपालमा भारतीय पर्यटकहरूको माध्यमबाट पनि ठूला नोटहरू नेपालमा भित्रिने गरेको अनुमान गरिन्छ । किनकि भारत सरकार तथा भारतीय रिजर्व बैङ्कले सन् २०१६ नोभेम्बर ९ सम्म ठूला नोटमा नोटबन्दी लगाएको थियो । उक्त नोटबन्दीका कारण भारतमा त्यस्ता नोटहरू थन्किएर रहेका थिए । जब खुल्ला गरियो तब त्यस्ता नोटहरू अन्य माध्यमबाट नेपालमा आउन थालेको आँकलन गरिन्छ ।
अर्थसम्बन्धी जानकार धरानका व्यवसायी कृष्णकुमार अग्रवालले भारतीय नोटहरू प्रशस्तै भएका कारण पनि अवमूल्यन भएको हुन सक्ने बताए । उनले भने, ‘मैले पनि अहिले भारु विगतको भन्दा घटेको भनेको सुनेको छु । भारतीय पर्यटक तथा अन्य माध्यमबाट आएको हुनाले पनि त्यसो भएको हुनसक्छ ।’
अर्थशास्त्री डा. राजेन्द्र शर्मा भने भारतीय मुद्रा केही कममा कारोबार हुनु अवमूल्यन र नेपाली रुपैयाँको पुनर्मूल्यन नै भन्न नमिल्ने बताउँछन् । उनका अनुसार भारतीय मुद्रा कममा खरिदबिक्री हुनु चाहिँ सामान तस्करी भइरहेको छ भन्ने सङ्केत हो । उनले भने, ‘तस्करी भएको सामान भारत जाँदै छ भन्ने सङ्केत हो यो । यहाँका नेपाली व्यापारीले भारतीय व्यापारीसँग नेपालीमा भुक्तानी माग्न थालेको देखिन्छ । यसो हुँदा उनीहरूले बजारहरूमा नेपाली रुपैयाँ महँगो मूल्य तिरी किन्दैछन् ।’ उनले खुल्ला सिमाना भएका कारणले गर्दा पनि भारतीय मुद्रा चाहिँ व्यापक मात्रामा आउने जाने गरेको बताए ।