सुनसरी । नेपालमा प्रतिबन्धित भारतीय माछा सुनसरीका विभिन्न नाका हुँदै तस्करी भइरहेकोे पाइएको छ । क्वारेन्टाइन विभागले भारतबाट स्वास्थ्य प्रमाण–पत्र विना आयातित मासुजन्य पदार्थमा रोक लगाए पनि जिल्लाका विभिन्न नाका हुँदै प्रतिबन्धित माछा तस्करी हुने गरेको पाइएको हो ।

थाई हाइब्रिड मुङ्ग्री माछाले स्वास्थ्यलाई असर गर्ने भन्दै भारतस्थित महाराष्ट्र सरकारले प्रतिबन्ध लगाएको मुङ्ग्री माछासमेत सुनसरीका विभिन्न नाका हुँदै तस्करी भइरहेकोे पाइएको छ । उक्त माछा सेवन गर्दा क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोगहरू निम्त्याउनुका साथै यसले पर्यावरणलाई समेत असर गर्ने भन्दै भारतमा सो माछा प्रतिबन्ध गरिए पनि सुनसरीका नाका हुँदै नेपाल भिœयाउने गिरोह सक्रिय रहेको बताइएको छ ।

विज्ञहरूका अनुसार यस प्रजातिको माछा अत्यधिक मांसाहारी हुने र यसले पोखरीमा भएका अन्य सबै प्रजातिका माछाहरू खाने गर्दछ । व्यापारीहरूले तिनलाई छिटो हुर्काउन सिनो र बोसो दिने गरेका छन् । स्रोतका अनुसार नेपालमा पालिने मुङ्ग्री माछा हुर्काउन पनि फर्मालिनयुक्त माछाको आन्द्राभुँडी, भैंसीको मासुको अखाद्य अंश, सिनो आदि प्रयोग गरिन्छ । जल प्रदूषण हुनुका साथै माछामा अत्यधिक मात्रामा हेभी मेटलसमेत पाइने गर्दछ । जसका कारण क्यान्सर, अर्थराइटिस, मधुमेहलगायतका घातक रोगहरू निम्तिने खतरा बढ्ने जानकार बताउँछन् ।

प्रतिबन्ध लगाइएको माछा नेपालमा खुलेआम बिक्री हुने गरेको छ । भारतको आन्ध्रप्रदेशमा उत्पादन हुने र विषादीयुक्त रसायनसहित नेपाल आउने माछा नेपाली बजारमा छ्याप्तछ्याप्ती भेटिने गरेका छन् । जिउँदो बेचिने मुङ्ग्री माछा भने बङ्गाल र विहारबाट मोरङको विराटनगर, सुनसरीको भण्टाबारी, उल्टी, लौकही, लाही, साहेवगञ्ज, कप्तानगञ्ज, अमडुवालगायत नाका हुँदै विना चेकजाँच अवैध बटोबाट नेपाली बजारमा भित्रिने गरेको पाइन्छ ।

सुनसरीको भण्टाबारी नाका हुँदै सप्तरी घर भएकी मञ्जु नाम गरेकी एकजना व्यापारीले स्थानीय सुरक्षाकर्मीलाई आफ्नो प्रभावमा पार्दै दिनहुँजसो दुईदेखि तीन क्विन्टल प्रतिबन्धित मुङ्ग्री माछा नेपाल भिœयाई सप्तरीलगायत मागअनुसारका क्षेत्रहरूमा पठाउने गरेको स्रोतको भनाइ छ ।

उक्त कार्य गर्न भारतीय नागरिक राजु र बौवा भन्ने व्यक्तिले मञ्जुलाई सघाउने गरेको बताइएको छ । केही महिनाअगाडि भारतीय बजारबाट ल्याइएको उक्त मुङ्ग्री माछा सिटी रिक्सामा सप्तरीतर्फ लाँदै गरेको अवस्थामा भारदहबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपाली किसानको उत्पादन भन्दै बेच्ने गरिएका मुङ्ग्री माछा पनि छिटो उत्पादनका लागि सिनो, भैंसीको बोसो, मरेका कुखुरा, कुखुराका अन्द्राभुँडी, अखाद्य केमिकल आदि मिसिएको फोहोर पानीमा उत्पादन गर्ने गरेको पाइएको छ ।

विज्ञहरूका अनुसार माछाको शरीरमा प्रोटिनको मात्रा बढी हुने भएकाले मरेको आधा घण्टाभित्र प्रशोधन गरेर माइनस ३५ डिग्रीमा राखी फ्रोजन गरिएन भने माछा कुहिन सुरु हुन्छ । त्यसैले आन्ध्र प्रदेशका माछा उत्पादकहरूले माछामा राखिने बरफ बनाउँदै ५ प्रतिशत फर्मालिनको झोल मिसाउने गर्दछन् ।

फर्मालिन मिसिएको आइसमा नराख्ने हो भने ४–५ दिनको बाटो पार गरेर नेपालका विभिन्न सहरहरूमा माछा आइपुग्नै नसक्ने विज्ञहरू बताउँछन् । यति लामो बाटो पार गरेर नेपालका विभिन्न बजारमा आइपुगेको माछा उपभोक्ताको भान्सामा पुग्दा कम्तीमा पनि १०–१५ दिन पुरानो भइसकेको हुन्छ । यद्यपि ‘ताजा’ जस्तो देखिन्छ । यसको मूलकारण ‘फर्मालिन’ को प्रयोग नै हो । अझ माछा ताजा राख्न प्रयोग गरिने बरफ पनि प्रदूषित हुने गरेको जानकारहरूको भनाइ छ ।

यसैबीच आइतबार सुनसरीको बर्जु गाउँपालिका वडानम्बर ५ मा अवस्थित इलाका प्रहरी कार्यालय साहेवगञ्जबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अवैधरूपमा ल्याउँदै  गरेको प्रतिबन्धित माछा बरामद गरी नष्ट गरेको छ । सुनसरी प्रहरीका अनुसार भारतबाट अवैधरूपमा ल्याउँदै गरेको अवस्थामा ९० केजी मुङ्ग्री माछा र ३० केजी जलकपुर गरी अन्दाजी ४५ हजार बराबरको माछा नियन्त्रणमा लिई नष्ट गरिएको हो । केही दिनअगाडि इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले समेत गाडीसहित प्रतिबन्धित माछा नियन्त्रणमा लिई सुनसरी भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाएको थियो ।