विराटनगर । सीएनआई कोसी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर–२ शङ्करपुरमा माघ १९ देखि २८ गतेसम्म सञ्चालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो ।
आयोजक नेपाल उद्योग परिसङ्घ प्रदेश १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी एक्स्पोको तयारी तीव्र भएको बताएको छ । एक्स्पोमा बृहत्रूपमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य मिल तथा मेसिनरी औजार, अटो, सेवा क्षेत्रलगायत उपभोग्य वस्तुका ४ सय स्टलहरू रहने उद्योग परिसङ्घ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । एक्स्पोले चौतर्फी मन्दी छाएको आर्थिक क्षेत्रलाई केही सहयोग पुग्ने उनले बताए । एक्स्पोमा अत्याधुनिक ह्याङ्गर (डोम) हरूमा उत्पादनका क्षेत्रहरू अनुसार अलग–अलगरूपमा वस्तु तथा सेवाको अवलोकन र खरिद गर्न सकिने अध्यक्ष घिमिरेले बताए ।
यस्तै आफ्नो उत्पादनको प्रवद्र्धन गर्न उचित अवसर नपाएका कतिपय स्थानीय तहका उद्यमीहरूलाई पनि एक्स्पोमा स्टल राख्ने अवसर दिइएको छ । ती स्थानीय तहबाट घरेलु, महिला, लघु, साना तथा कृषिक्षेत्रका उद्यमीले निःशुल्क स्टल प्राप्त गर्ने बताइएको छ । त्यसरी स्टल राख्ने उद्यमीका लागि सम्बन्धित स्थानीय तहले एक्स्पोको प्रवद्र्धनमा सहयोग गर्नेछन् ।
यस्तै एक्स्पोमा वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र नवलपरासीलगायत औद्योगिक क्षेत्रका ठूला उद्योग र उत्पादन ब्राण्डहरू पनि रहने जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष घिमिरेले नेपालका छिमेकी देशहरू भारतको विहार, जोगवनी, बथनाहा, फारविसगञ्ज, अररिया, रानीगञ्ज, वीरपुर, भीमनगर, बङ्गाल सिलगुडीबाट समेत ५० हजारमाथि अवलोकनकर्ता एक्स्पोमा आउने लक्ष्य लिएको बताए ।
एक्स्पोलाई रोचक र ज्ञानबद्र्धक बनाउने उद्देश्यले सौर्यमण्डलको अवलोकन गर्ने व्यवस्थाका लागि प्लानेटेरियम स्थापना गरिएको छ । विशेष किसिमको कक्षभित्र ३ सय ६० डिग्रीमा सौर्यमण्डल अवलोकनको व्यवस्था गराइने, विभिन्न उमेरअनुसारका दर्शकको समूह बनाएर अन्तरिक्षमा भएका ग्रहहरू र तारामण्डलको बनावट एवम् त्यसको चक्रबारे जानकारी गराइने पनि आयोजकले जनाएको छ । ‘यसबाट विशेषगरी विद्यार्थीहरूले सौर्यमण्डलबारे ज्ञान हासिल गरी विज्ञानप्रति विश्वास बढ्ने र उनीहरूलाई त्यसको अध्ययनमा आकर्षण थप्ने विश्वास लिएका छौं’–विज्ञप्तिमा भनिएको छ ।
एक्स्पोले बिहान ११ बजेदेखि ३ बजेसम्मका लागि प्रतिव्यक्ति १ सय रुपैयाँको टिकट शुल्क र विद्यार्थीको लागि भने ५० रुपैयाँ तोकेको छ । साँझको सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क २ सय रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । मेलामा ३ करोड बराबरको खर्च हुने आयोजकको भनाइ छ । यस्तै त्यति नै बराबरको आम्दानी गर्ने आफूहरूको लक्ष्य रहेको अध्यक्ष घिमिरेले बताए । मेला देश तथा विदेशका गरी ३ लाख ५० हजार बढी मानिसले अवलोकन गर्ने अनुमान आफूहरूको रहेको आयोजकको दाबी छ ।
एक्स्पोको मुख्य प्रायोजकमा रमपम तयारी चाउचाउ रहेको छ भने प्रायोजकहरूमा केएल दुगड र म्याजिक जुत्ताचप्पल रहेको छ । यस्तै सह–प्रायोजकमा सेन्चुरी स्पाइस एण्ड स्न्याक्स, चौधरी ग्रुप (सिजी), क्लालिटी बिस्कुट, रुस्लान र क्लिन कङ्क्रिट नेपाल रहेका छन् ।
एक्स्पोलाई नेपाल सरकारको कृषि, उद्योग, पर्यटनसँग सम्बन्धित मन्त्रालयहरू, नेपाल पर्यटन बोर्ड र १ नम्बर प्रदेश सरकारअन्तर्गतका उद्योग, कृषि तथा सहकारी, सामाजिक विकास, पर्यटन वन तथा वातावरण मन्त्रालय, विराटनगर महानगरपालिका, रङ्गेली नगरपालिका, सुनसरीको दुहबी नगरपालिका, मोरङको बूढीगङ्गा गाउँपालिकाले प्रवद्र्धनमा सहयोग गरेका छन् ।