भद्रपुर । ‘परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत, पसिना बगाउनु परेको हो । यस यात्राले अहिले आएर भने आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब परदेशी माटोमा होइन, आफ्नै देशको माटोमा निरन्तर रगत, पसिना बगाउने अभियानमा लागेको छु’ यो भनाइ झापा भद्रपुर–१ हिमाली चौक पृथ्वीनगरका ३५ वर्षीय अर्जुन सुवेदीको हो ।
उनी अहिले नेपालको तराईमा पाइने रैथाने जातको उन्नत नश्ल क्षमताको मुर्रा भैंसीपालन गरिरहेका छन् । यस जातका भैंसी सङ्कटमा परिरहेको अवस्थामा सुवेदीले राज्यको सहयोग विना आफ्नै लगानीमा सञ्चालन गरिरहेका छन् । सम्भवतः झापाकै ठूलो मुर्रा भैंसी फर्म सञ्चालन भइरहेको सुवेदीको दाबी छ ।
घरपालुवाको रूपमा रहँदै आएका भैंसी पनि केही वर्षयताबाट पाल्न छाड्दै गइरहेको अवस्थामा आफूले यो आँट गरेको उनको भनाइ छ । सुवेदी कृषि फर्म नाममा भद्रपुर–१ साविकको पृथ्वीनगरको कमानसिंह मार्गमा ५४ वटा मुर्रा भैंसीसहितको फर्म छ । सञ्चालक सुवेदी रोजगारीका सिलसिलामा ११ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । ११ वर्ष कतारमा मजदुर भएर पसिना बगाएका अर्जुनले मासिक एक लाख ५० हजार तलब आइरहेको कम्पनी त्यागेर आफ्नै देशमा केही गर्ने सोच पालेर तीन वर्षयता भैंसी पालनमा रमाइरहेको बताउँछन् ।
उनले ३ वर्षयता भद्रपुर–१ थाना चौकस्थित कमानसिंह मार्गको बस्तीमा आफ्नै स्वामित्वमा रहेको ७ कठ्ठा जग्गामा २६ लाख लगानीमा आधुनिक गोठ निर्माण गरी ५४ वटा भंैसी राखेर व्यावसायिक पशुपालन सुरु गरेको जनाए । उनले प्रदेश २ को सिरहा जिल्लाको लहानबाट अधिकांश मुर्रा जातका पाडीहरू खरिद गरेर ल्याएकोमा अब केही पाडीहरू बच्चा दिने तयारीमा पुगिसकेको बताए । स्थानीय रैथाने प्रजातिका मुर्रा भंैसी भए पनि प्रतिभैंसी १० लिटरसम्मा दूध उत्पादन हुनसक्ने उनको अनुमान छ । राज्यको कुनै निकायबाट सहयोग नपाई कर्म गरिरहेका सुवेदी अहिलेसम्म आफ्नै लगानीमै सीमित छन् । उनी एक वर्षका लागि ६ लाख रुपैयाँको पराल मात्र खुवाउने गरेको बताउँछन् ।
वैदेशिक रोजगारको अनुभवले आफ्नै स्वरोजगार सोच बनाएर व्यावसायिक पशुपालन तथा कृषि उत्पादनको क्षेत्रमा होमिएका उनी बजारको उचित प्रबन्ध हुने हो भने दैनिक २ सय ५० लिटर बढी दूध उत्पादन गर्ने सोचमा छन् । उनले आफ्नो फर्मबाट उत्पादन हुने दूध खरिद गरिदिने भन्दै केही दुग्ध डेरी सञ्चालकहरू फर्ममा आउने गरेको बताएका छन् । स्थानीय पशुपालक कृषकसँग सानो–सानो परिमाणमा दूध सङ्कलन गर्ने लक्ष्यका साथ चिस्यान केन्द्र खोल्ने सोचसमेत रहेको सुनाएका सुवेदीले १३ बिघा जमिन भाडामा लिएर घाँस खेती तथा कृषिउपज उत्पादन पनि गरिरहेका छन् ।
७ बिघा जग्गा वार्षिक ३५ हजार भाडा तिर्ने गरी घाँस खेती गरेर पशु आहारको व्यवस्थापन गरिरहेका उनले मौसमी खेतीका लागि ६ बिघा जमिन उपयोग गरिरहेका छन् । आफूसहित ३ जनालाई पूर्ण रोजगारीसमेत दिएको सुवेदी फर्मबाट यतिखेर ४ बिघा क्षेत्रमा हराभरा तोरी फुलिरहेको दृश्यले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । पशुपालन र कृषिउपज तरकारी खेती तथा अन्न, तेलहन खेतीका साथै अगाडि बढाउने सोच पालेका उनले रोजगारीका लागि विदेशिने युवाहरूलाई अवसरका ढोकाहरू आफ्नै देशमा रहेको सुनाउँछन् । देशमै बसेर समृद्धिको वातावरण तयार गर्न रातदिन लागिरहेका सुवेदीजस्ता युवालाई स्थानीय सरकारले समेत नजिकबाट नियाल्न सकेको छैन ।
अघिल्लो नेतृत्वले बेवास्ता गरेपछि स्थानीय सरकारका कामप्रति अविश्वास पाल्न बाध्य अर्जुनले वर्तमान नगर नेतृत्वसित पनि खासै आशा नगरेको बताउँछन् । जसलाई सरकारको सहयोग आवश्यक छ, त्यसलाई सहयोग गर्न सरकारी पक्ष नलागेकै कारण युवाहरू विदेशिन बाध्य भएको तीतो अनुभव सुनाउने सुवेदी अर्काको देशको लाखले मात्र भविष्य सुनिश्चित नहुने भन्दै आफ्नै माटोमा केही वर्ष थोरै कमाइमा रमाएर भविष्य सुन्दर बनाउनसके देशको समृद्धिको यात्रामा एउटा इँटा थपिने उनको कथन छ ।
नातावाद, कृपावाद वा कागजी सहयोगका सबै विभेद बन्द गरेर वास्तविक उद्यमी युवालाई प्रोत्साहनको पोको खोलिनु पर्छ, अनि मात्र देशले समृद्धिको यात्रा तय गर्न सक्नेछ भन्ने सोच पालेका सुवेदीले अहिलेसम्म सरकारका कुनै पनि निकायबाट सहयोग भने पाएका छैनन् । उनको फर्मसम्म पुग्ने बाटो वर्षामा हिलाम्मे हुन्छ भने हिउँदमा हिँडेर जान समस्या नभए पनि असहज अवस्थाको सामना गर्नुपर्छ । फर्म सञ्चालन बापत वडा कार्यालयलाई वार्षिक ७ हजार सहित ४३ हजार कर राज्यलाई बुझाइरहेको सुवेदी कृषि फर्मले सुविधा भने एक पैसा पनि पाउन सकेको छैन ।