भरौल । वराहक्षेत्र नगरपालिकाले पूरक बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० का लागि १ अर्ब ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पूरक बजेट सार्वजनिक गरेको हो ।

शनिबार नगरसभामार्फत् कृषि, पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभामा नगर उपप्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक वर्ष २०७९/०८० को (संशोधितसहित)  बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

सभामा नगरप्रमुख रमेश कार्कीले नगरको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरप्रमुख कार्कीले ‘समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र पूर्वाधार’ भन्ने नारालाई सफल पार्न काम गरिरहेको बताए । पर्यटन विकासका लागि रामधुनी, चतरा, वराहक्षेत्र, सूर्यकुण्ड र धरान मिलाएर धार्मिक पर्यटकीय सर्किट निर्माण गर्ने काम अगाडि बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वराहक्षेत्रको दुर्गम मानिएको सूर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकासमा जोड, ‘एक वडा एक गौरवका योजना’ को काम अगाडि बढाएको, कोसी कटानमामा राहत र उद्धारमा स्थानीय सरकारको प्रत्याभूति हुने काम गरेको, जङ्गली हात्ती नियन्त्रणमा नगरपालिकाले काम गरेको, सुत्केरी महिलालाई एम्बुलेन्स खर्च, ज्येष्ठ नागरिकहरूको घर–घरमै गई स्वास्थ्य उपचार गर्नेलगायतका काम कार्यान्वयनको चरणमा रहेको नगरप्रमुख कार्कीले प्रतिवेदनमार्फत् प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा वडा नं. ७ मा ३ सय घरधुरीलाई जग्गाको निस्सा वितरण गरी नाम जाँच गर्न कार्य सम्पन्न भएको, भूमिसम्बन्धी समस्या समधानका लागि प्रारम्भिक चरणको घरधुरी सर्वेक्षण गरी उक्त प्रतिवेदनलाई नेपाल सरकार, प्रदेश सरकार र राष्ट्रिय भूमि आयोगसमक्ष पेश गरिएको र भूमिसम्बन्धी समस्यालाई समाधान गर्न सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखी समाधान गर्न पहल भइरहेको कार्कीले सभामा जानकारी दिएका थिए ।

सभाले फोहोर मैला व्यवस्थापन गर्नेसम्बन्धी विधेयक २०७९ पास गरेको छ । वराहक्षेत्र नगरपालिकाको मध्यम् अपाङ्गता (ग वर्ग) भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यविधि–२०७९, जेट बोट, ट्रेकिङ, कायाकिङ, क्यानोइङ, बन्जी जम्पिङ, जिप फ्यायर, र्याफ्टिङ सञ्चालन गर्ने विधेयक २०७९, वराहक्षेत्र नगरपालिकाको आर्थिक ऐन २०७९ संशोधनसहित पारितसमेत गरेको छ । त्यस्तै स्थानीय पाठ्यक्रमसमेत संशोधितसहित पारित गर्ने निर्णय गरेको छ ।

खेलाडीहरू सम्मानित
नगरपालिकाले विभिन्न विधाका खेलाडीहरूलाई सम्मान गरेको छ । फुटबलको माध्यमबाट वराहक्षेत्र नगरपालिकालाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल खेलाडीहरूलाई सम्मान गरिएको हो ।

वराहक्षेत्रमै जन्मे, हुर्केर राष्ट्रिय खेलाडी बनेका उनीहरूलाई जनही पाँच हजार रुपैयाँ नगद र सम्मान–पत्र प्रदान गरिएको छ । सम्मानित हुनेहरूमा वराहक्षेत्र–५ का टङ्क बस्नेत, अमर श्रेष्ठ, वराहक्षेत्र–२ की महिला फुटबल खेलाडी मनिषा विष्ट, पवित्रा राई, मुना मगरलगायत छन् । उनीहरूलाई नगरप्रमुख कार्कीले नगदसहित सम्मान–पत्र प्रदान गरेका हुन् ।

baha