विजयपुर । मितेरी डेभलपमेण्ट बैङ्क लिमिटेडले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बुधबार बैङ्कको सम्पन्न १७ औँ साधारणसभाले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैङ्कका सिनियर म्यानेजर विशाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार १३ प्रतिशतमध्ये शून्य दशमलव  ६५ प्रतिशत बोनस शेयरको कर प्रयोजनका लागि नगद लाभांश प्राप्त गर्नेछन् ।

बैङ्कका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा बैङ्कले १४ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफाबाट बैङ्कले शेयरधनीलाई लाभांश वितरण गर्ने भएको हो । बैङ्कमा कुल निक्षेप ६ अर्ब १२ करोड ४४ हजार रुपैयाँ रहेको छ भने कुल कर्जा ५ अर्ब ४ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

१ नं. प्रदेशका मोरङ, झापा, सुनसरी, धनकुटा र उदयरपुर जिल्लामा बैङ्कको कार्यक्षेत्र रहेको छ । बैङ्कका हालसम्म कुल १८ वटा शाखाहरू रहेका छन् ।

बैङ्कका अध्यक्ष किसन मास्केको अध्यक्षतामा सम्पन्न साधारणसभामा शेयरधनीले सुझाव व्यक्त गरेका थिए । साधारणसभाले संस्थापक सञ्चालकमा किसन मास्के, गम्भीरमान तण्डुकार र मेघराज श्रेष्ठलाई चयन गरेको छ । स्वतन्त्र सञ्चालकमा नेत्रप्रसाद दाहाल नियुक्त भएका छन् ।