विराटनगर । पुस १५ गते तस्करीमा संलग्न ३ जना युवासहित झण्डै दुई लाख मूल्य बराबरको सामान प्रहरीले विराटनगरबाट बरामद गर्यो । विराटनगर महानगरपालिका–१८ खोक्साहाबाट प्रहरीले सुन राख्ने बट्टा तस्करीमा संलग्नलाई पक्राउ गरेको थियो ।
बट्टा तस्करीमा संलग्न विराटनगर–१७ का ३० वर्षीय मस्जित आलम, २० वर्षीय मोहम्मद अरवाज र विराटनगर–१८ का २१ वर्षीय रहमद मियाँ पक्राउ परे ।
भारतबाट बोरामा प्याक गरेर ल्याउँदै गरेको सुन राख्ने खाली बट्टासहित उनीहरूलाई अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार विभिन्न आकारका ९ सय ७२ वटा सुन राख्ने खाली बट्टा बरामद भएको छ । बरामद गरिएको बट्टा १ लाख ६२ हजार मूल्य बराबरको थियो ।
त्यस्तै प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया, धनपालथान–३ मायागञ्ज, विराटनगर–१६ दरैया र विराटनगर–१५ हुलास मेटल चोकबाट पनि तस्करीका सामान बरामद ग¥यो । भन्सार छली गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा चिनी, मोटर पार्ट्स, बिजुलीका सामान, लत्ताकपडा, खैनीलगायतका सामान बरामद गरिएको थियो । बरामद गरिएको सामान ४ लाख ८५ हजार ३ सय रूपैयाँ बराबरको रहेको थियो ।
यस्तै पुसको दोस्रो साता मोतियाविन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स भारतबाट नेपालतिर तस्करी भएर आएको ठूलो परिमाणको लेन्स बरामद ग¥यो । भारतको जोगवनीबाट विराटनगर भिœयाइएको लेन्स इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले बरामद गरेको थियो । भन्सार छली गरेर ल्याइएको आँखाको लेन्स प्रहरीले विराटनगर महानगरपालिका–१६ जुट मिल्सनजिकबाट बरामद गरेको थियो । एउटा लेन्सको मूल्य ५ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्ने आँखा अस्पतालहरूले जनाएका छन् ।
आठ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र ३४ हजार ८ सय रुपैयाँ बराबरको औषधि बरामद गरेको प्रहरीको भनाइ छ । प्रहरीले लेन्ससहित भारतबाट तस्करी गरेर ल्याइएको चाबी (साँचो), थान कपडा, चिया छान्ने जाली, साडीलगायतका सामान बरामद गरेको छ । भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा १२ लाख ३ हजार ४ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको थियो । उल्लेखित घटना प्रतिनिधिमूलक हुन् ।
जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयहरूले पुस १० देखि २५ गतेसम्म १५ दिनको अवधिमा ४३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई सातामा ४३ लाख ७ हजार ९ सय ८३ रुपैयाँ मूल्य बराबरको चोरी तस्करी भएर आएको अवैध सामान बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको उनले बताए । अवैध चोरी तस्करीमा प्रयोग भएका चारवटा सवारी साधन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सामानमध्ये इलाका प्रहरी कार्यालय रानीले मात्र दुई सातामा अवैध रूपमा चोरी तस्करी भएर आएको झण्डै २८ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, मोटरपार्ट्स, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
चोरी तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । चोरी तस्करीलगायतका अवैध धन्दा नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको उनले बताए । अवैध रूपमा हुने चोरी, तस्करी रोक्न प्रहरी कडाइका साथ लागिपरेको उनले बताए ।