सुनसरी । गृह मन्त्रालयको निर्देशनपछि सुनसरीको सीमा नाकामा कडाइ गरिएको छ ।

सीमामा हुँदै आएको तस्करी नियन्त्रण गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएपछि सुनसरीका सीमामा पनि कडाइ गरिएको हो । भारतसँग सीमा जोडिएको सुनसरीका विभिन्न नाका हुँदै अवैध तवरबाट भारतीय बजारबाट ल्याइने सामान सुरक्षाकर्मीले विगतभन्दा बढी बरामद गर्न थालेको छ । गृहमन्त्री लामिछानेले नेपाल–भारत सीमामा हुने तस्करी र अपराधका घटना नियन्त्रण गर्न सक्रियताका साथ लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सीमामा तैनाथ  सुरक्षाकर्मीलाई उनले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएपछि सीमामा कडाइ गरिएको हो ।

केही दिनअगाडिसम्म घरायसी प्रयोजनका लागि सहजै सामान ल्याउने गरेको भए पनि अहिले कडाइ गरिएको स्थानीय लतिफ मियाँले बताए । सीमामा अवैध तवरबाट गरिने गतिविधि न्यूनीकरण तथा नियन्त्रण गरिनु सकारात्मक भए पनि घरायसी प्रयोजनका लागि ल्याइने सामान छुट दिनुपर्ने उनको भनाइ छ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अधिकांश सर्वसाधारण भारतीय बजारमा निर्भर रहेको अवस्थामा एक्कासि सीमामा कडाइ गरिनु गलत भएको अर्का स्थानीय मैमुन खातुनले बताइन् ।

ठूलो राजस्व चुहावट गर्ने तŒवलाई रोकथाम गर्दै कानूनी दायरामा ल्याउनुपर्ने उनले बताइन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई पहिचान गरी घरायसी प्रयोजनका लागि सामान ल्याउन दिनुपर्ने उनी बताउँछिन् । ‘जसले दिनहुुँ लाखौँ लाख राजस्व चुहावट गर्छन्; तिनलाई कानूनी दायरामा ल्याउनै पर्छ’ खातुनले भनिन्, ‘तर, जसले आफ्नो घरायसी प्रयोजनका लागि सामान ल्याउन चाहन्छन्; त्यसलाई पहिचान गरेर छाड्नुपर्छ ।’ विगतमा मिलेमतोमा सीमामा चोरी पैठारी हुने गरेको सुरक्षाकर्मीमाथि आरोप लाग्दै आएको अवस्थामा केहीदिनयता निगरानी बढाइएपछि स्थानीय सर्वसाधारण निराश बनेका छन् ।

यता सीमामा तैनाथ सुरक्षाकर्मी भने स्थानीय सर्वसाधारणले आफूखुसी भारतीय बजारबाट सामान ल्याउन नपाएपछि केही व्यक्ति असन्तुष्ट हुनु स्वभाविक भएको बताउँछन् । ‘घरायसी प्रयोजनका लागि भन्दै एकै व्यक्तिले कैयौँपटक भारतीय बजारबाट सामान ल्याउने गर्थे’ सीमामा तैनाथ एकजना सुरक्षाकर्मीले भने, ‘अब उनीहरूले चाहेअनुसार सामान ल्याउन नपाएपछि निराश वा आक्रोसित बन्नु अस्वभाविक होइन ।’ ती सुरक्षाकर्मीले माथिको निर्देशनअनुसार सीमामा थप कडाइ गरिएको बताए ।

विगतमा कडाइ गरे पनि सर्वसाधारणलाई घरायसी प्रयोजनका नाममा सहजै सामान ल्याउन दिइएको थियो । ‘के गर्ने हामीलाई जे जस्तो आदेश माथिबाट आउँछ, त्यसलाई कार्यान्वयन गराउनुबाहेक अर्को विकल्प हुँदैन’–ती सुरक्षाकर्मीले भने । यता जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गृह मन्त्रालयको निर्देशनपछि सीमामा पूर्णरूपमा कडाइ गरिएको बताउँछन् ।

विगतमा घरायसी प्रयोजनका लागि भनी सीमावर्ती क्षेत्रका स्थानीय सर्वसाधारणलाई सीमित मात्रामा सामान ल्याउन दिने गरिए पनि अब भने त्यस्तालाई पनि रोक्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको बताए । गृह मन्त्रालयको निर्देशनअनुसार चोरी पैठारी न्यूनीकरण तथा नियन्त्रण गर्न कटिबद्ध भएर लागेको प्रजिअ यादवको भनाइ छ ।

vansar-naka-inaruwa