बेलबारी । चर्को ब्याजदरमा साहुबाट ऋण लिएर आजित बनेका विपन्न र न्यून आय भएका ऋणीहरूलाई सहकारी वरदान सावित भएको बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले बताएका छन् ।
मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा रहेको न्यू जनएकता बचत तथा ऋण सहकारी संस्था लि. को १७ औँ वार्षिक साधारणसभामा नगरप्रमुख राईले हिजोका दिनमा ५ रुपैयाँ ब्याजमा ऋण लिएर ढाड सेकिएका ऋणीहरूलाई सहकारीको स्थापना सँगै सहज भएको र कम ब्याजदरमा ऋण पाउँदा सहज भएको उल्लेख गरे ।
सहकारी नीति र नियमको उचित पालना नहुँदा र अनुगमन प्रभावकारी नहुँदा सहकारीबाट ठगिनेको सङ्ख्यासमेत बढेको भन्दै उनले त्यस्ता सहकारीबाट सचेत रहनसमेत आग्रह गरे । सहकारीको नियमन र अनुगमनमा समेत ध्यान दिनुपर्ने कुरामा उनले जोड दिए ।
१५ करोड २९ लाख १७ हजार ६ सय ८२ रुपैयाँ वासलात रहेको यस सहकारी संस्थाले गत आर्थिक वर्षमा ३७ लाख ९२ हजार ५४० खुद नाफा कमाएको संस्थाले आर्थिक प्रतिबेदनमा जनाएको छ ।
कार्यक्रममा सहभागी जिल्ला बचत तथा ऋण सहकारी सङ्घ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाले सहकारी बैङ्कजस्तो भएर सञ्चालन हुनुभन्दा पनि सहकारी जस्तै भएर सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले बैङ्कभन्दा ठूला सहकारीहरूले सहकारी नै भएर सेवा दिइरहेको विषय उल्लेख गर्दै बैङ्कभन्दा सहकारी अब्बल रहेको बताए । उनले सहकारीहरूको एकीकरणमा समेत जोड दिए ।
संस्थाका अध्यक्ष जगतबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न समिति र उपसमितिहरूले तयार पारेको प्रतिवेदनहरू प्रस्तुत गरी पारित गरिएको थियो । संस्थामा ३ हजार भन्दा बढी सदस्यहरू रहेका छन् । संस्थाले गत एसईई परीक्षामा उच्च अङ्क प्राप्त गर्ने चारजना विद्यार्थीहरूलाई सम्मानसमेत गरेको थियो ।