विजयपुर । प्रदेश १ मा सुन्तला उत्पादनमा वृद्धि भएको छ । सुन्तलाको उत्पादनमा वृद्धिसँगै मूल्य पनि बढेको कृषिउपज बजारस्थल धरानले जनाएको छ ।
भोजपुरका स्थानीय मनिराज निरौलाले भोजपुरका प्रायः स्थानमा सुन्तलाको उत्पादन वृद्धि भएको बताए । उनले भने, ‘हाम्रो क्षेत्रमा गत वर्षभन्दा सुन्तलाको उत्पादन दोब्बर नै वृद्धि भएको अनुमान छ ।’ सडक सञ्जाल जोडिएपछि कृषकहरू सुन्तला खेतीमा आकर्षित भएको उनी बताउँछन् । ‘सडक सञ्जाल जोडिएपछि उत्पादित सुन्तलालाई बजार पायो । बजार पाएपछि आम्दानी भयो’–उनले भने । उनका अनुसार आम्दानी भएपछि स्थानीयले आफूसँग भएका सुन्तलाको बोटलाई स्याहार गर्न थाले जसले गर्दा उत्पादनमा वृद्धि भएको हो । उनले भने, ‘पहिले बजार नपाउँदा स्थानीयले स्याहार गर्दैनथे । आम्दानी हुन थालेछि स्याहार गर्न थाले ।’ स्थानीय निरौलाले उत्पादित सुन्तलाले बजार पाउन थालेपछि कृषकले व्यावसायिक रूपमा पनि सुन्तला लगाउन थालेको बताए । उनका अनुसार भोजपुरमा खाद्यान्न (धान, मकै, कोदो) लगाउने खेतीयोग्य जमिनमा सुन्तला खेती गर्न थालिएको छ । उनले भने, ‘खाद्यान्न बालीभन्दा कम परिश्रम र आम्दानी राम्रो हुने भएकाले कृषक आकर्षित हुन थालेका छन् ।’ उनी सो क्षेत्रका सुन्तला बिक्रीका लागि धरान बजार ल्याउने तयारीमा छन् ।
कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार १ नम्बर प्रदेशमा सुन्तला उत्पादन वृद्धि भएको छ । उनले भने, ‘गत वर्षभन्दा करिब १० देखि १५ प्रतिशत वृद्धि हुने अनुमान छ ।’ उनका अनुसार कृषिउपज बजारबाट दैनिक ५० टन सुन्तलाको कारोबार भइरहेको छ । धरान कृषि बजारमा ३ हजार मेट्रिक टन सुन्तला आइसकेको छ भने सिजनभरमा ६ हजार मेट्रिक टन सुन्तला कृषि बजारमा आउने अनुमान गरिएको छ । व्यवस्थापक भट्टराईका अनुसार गत वर्ष कृषिउपज बजारमा ५ हजार ६ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । कृषिउपज बजार धरानमा प्रदेश १ का खोटाङ, भोजपुर, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, ताप्लेजुङलगायतका जिल्लाबाट सुन्तला आउने गरेको छ ।
उनले भने, ‘गतवर्ष प्रतिकेजी १ सय १५ रुपैयाँसम्म कारोबार भएको थियो । यस वर्ष १ सय ३० रुपैयाँसम्म हुने अनुमान छ । यो झण्डै १५ प्रतिशत बढी हो ।’ कृषिउपज बजार धरानका अनुसार ग्रेडिङ अनुसार थोक भाउ ‘ए’ ग्रेडको सुन्तला प्रतिकेजी १ सय १५ रुपैयाँ, ‘बी’ ग्रेडको ८० रुपैयाँ र सी ग्रेडको ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ भने गतवर्ष प्रतिकेजी १ सय रुपैयाँ, ८० रुपैयाँ र २५ देखि ३० रुपैयाँमा कारोबार भएको थियो । सुन्तलाको उत्पादन वृद्धि भए पनि बजार अभाव नभएको व्यवस्थापक भट्टराईको भनाइ छ । उनका अनुसार आयात भएको सुन्तलाको करिब २५ प्रतिशत धरान बजारमा नै खपत भइरहेको छ । उनले भने, ‘बीपी प्रतिष्ठानलगायत शैक्षिक संस्थाका कर्मचारीले गर्दा पनि खपत भएको हो कि भन्ने लाग्छ ।’ साथै मौसमका कारणले पनि धरानमा सुन्तलाको खपत धेरै हुने गर्छ । धरानमा घाम लाग्ने गरेकाले पनि खपत धेरै भएको हो । धरानमा आयात भएका सुन्तला दमक, उर्लाबारी, विराटनगर, लाहान, सिरहा, सप्तरीलगायतका बजारमा जाने भएकाले बजारको अभाव नभएको उनले बताए ।