धरान । झापाको दमक नगरपालिकाबाट चेकजाँचको क्रममा प्रहरीले दुईजनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक नगरपालिका–१ श्रीपालीचोकका ३९ वर्षीय धनराज आले र दमक चियादोकान चोकबाट २६ वर्षीया अनिषा कार्कीलाई पक्राउ गरेको हो । उनीहरूलाई बुधबार राति ब्राउनसुगरजस्तो देखिने लिसाइलो पदार्थसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।
उनका अनुसार मे.७ प ५१०७ नम्बरको मोटरसाइकलमा सवार रहेका इलाम फाकफोकथु गाउँपालिका–४ स्थायी घर भई हाल दमक बस्दै आएका आलेको साथबाट ८ सय मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ ।
त्यस्तै कार्कीको साथबाट दुई मिलिग्राम ब्राउनसुगर बरामद गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको हो । उनीहरूलाई इप्रका दमकमा राखेर थप अनुससन्धान गरिरहेको प्रहरीले जनाएको छ ।