धरान । विराटनगर महानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखले व्यवसायीको गुनासो सुनेर सुझाव सङ्कलन थालेका छन् ।
पहिलो चरणमा विराटनगरको मुख्य रोडका व्यापारीहरूको गुनासो सुनेर सुझाव लिएका थिए । जनताको घरदैलोमा पुगेर गुनासो सुन्ने र सुझाव सङ्कलन गर्ने अभियानअन्तर्गत नगरप्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीसहितको टोली पसलेकहाँ पुगेका हुन् ।
नगरप्रमुख कोइराला तथा उपप्रमुख कार्कीले पसलको अनुगमन गरी गुनासो सङ्कलन गरेका थिए । उनीहरूले फुटपाथको अवस्था, फोहोर व्यवस्थापन, बिजुलीबत्ती, महानगरका कर्मचारीबाट सेवाग्राहीलाई गर्ने व्यवहारलगायतका विषयमा व्यवसायीसँग सुझाव लिएका थिए ।
नगरप्रमुख कोइारालले महानगरको दायित्व कर लिने मात्रै नभई सेवा प्रवाहको विषयमा पनि बुझ्ने दायित्व भएकाले सोहीअनुसार अभियान चलाइएको बताए । उनले यसलाई अभियानकै रूपमा अगाडि बढाउने बताए ।
यसक्रममा व्यवसाय दर्ता, नवीकरण र फोहोरको सदस्य बने नबनेको समेत अनुगमन गरिएको कोइरालाका प्रेस संयोजक मीनकुमार नवोदितले जानकारी दिए ।
व्यापारीहरूले नेट तथा केबलको तारलाई व्यवस्थापन गर्न नगरप्रमुख तथा उपप्रमुखको टोलीलाई सुझाएका थिए । स्थानीय व्यापारी सुरेश भगतले महानगरको टोली अहिले केही गम्भीर देखिएको बताए । तर, विविध समस्यामा निराकरण आवश्यक रहेको उनले बताए । अभियानको पहिलो दिन बिहीबार टोलीले महानगरको गेटदेखि सातघुम्तीसम्म अनुगमन गरेको थियो ।