देउराली । धरान उपमहानगरपालिकाले धरान उत्सवका लागि २३ लाखभन्दा बढीको बजेट व्यवस्था गरेको छ । बुधबारबाट सुरू हुने ३ दिने कार्यक्रमका लागि उपमहानगरपालिकाले विभिन्न कार्यक्रम खर्च शीर्षकको आन्तरिक स्रोतबाट २३ लाख २५ हजार ५ सय बजेटको व्यवस्था गरेको हो ।
बुधबार बसेको कार्यपालिकाको बैठकमा नगरसभाबाट बजेट संशोधन हुने गरी आर्थिक वर्ष २०७९–०८० बजेटको उपशीर्षक धरान उपमहानगरपालिकाको ३ उपक्षेत्रका ७ वटा कार्यक्रमबाट उक्त बजेट व्यवस्था गरेको हो ।
रकमान्तर भएका कार्यक्रमहरूमा कार्यालय सञ्चालन तथा प्रशासनिक उपक्षेत्र अन्तरगत विविध कार्यक्रम खर्च–प्रमुख कोषबाट ५ लाख ७८ हजार ९ सय ४०, भाषा संस्कृति उपक्षेत्र अन्तरगत कला, साहित्य तथा संस्कृति कार्यक्रमबाट २ लाख ५० हजार र पर्यटन उपक्षेत्र अन्तरगत धरान उत्सवबाट १ लाख ९६ हजार ५६०, टुरिस्ट गाइड (म्यापसमेत)बाट ५ लाख, इष्ट टुरिज्यम मार्टबाट ५ लाख, संस्थागत विकास सुदृढीकरणबाट २ लाख र भगिनी सम्बन्ध कार्यक्रमबाट १ लाख रकम धरान उत्सव कार्यक्रमका लागि खर्च व्यवस्थापन गरेको हो ।
आर्थिक वर्ष २०७९–०८० को बजेट निर्माण गर्दा उपमहानगरपालिकाले धरान उत्सवका लागि पर्यटन उपक्षेत्रमा आन्तरिक स्रोतबाट २ लाख मात्र विनियोजन गरेको थियो । विनियोजित उक्त बजेटबाट ३ हजार ४४० रुपौँया खर्च भएको उपमहानगरपालिकाले जनाएको छ । यसबाहेक धरान उत्सवका लागि व्यवस्था गरिएको पर्यटन उपक्षेत्रका अन्य ४ कार्यक्रमका सम्पूर्ण बजेट धरान उत्सवका लागि खर्च गरिँदै छ ।
धरान १२ पब्लिक हाइस्कुलको प्राङ्गणमा हुने धरान उत्सव कार्यक्रममा विभिन्न सङ्घ संस्थाका लगायत व्यापारिक स्टलहरू रहनेछन् । स्टलमा शैक्षिक, संस्कृति, पर्यटन, जातीय खानालगायतका प्रदर्शनी रहने बताइएको छ भने स्थानीय उत्पादनहरूलाई पनि प्राथमिकता दिइने बताइएको छ।
धरान उत्सव धरानको जन्मोत्सव भएकोले चाडपर्वको रूपमा मनाउन आग्रह गरिएको हुँदा उक्त विभिन्न सांस्कृतिक झाँकीसहितको र्याली, सरसफाइ अभियान, सुनसरी समृद्धिका लागि समन्वय र प्रयास विषयक जिल्लाभरिका प्रमुख तथा उपप्रमुखहरूबिच छलफल तथा शैक्षिक कार्यक्रमका साथै खेलकुद र धरानका लागि योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मानित गरिने भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले धरान उत्सवको व्यवस्थापन गर्न विनियोजित बजेट माघ १५ गते बस्ने नगरसभाले यस शीर्षकमा रकमान्तरण गर्ने बताए ।