विराटनगर । प्रहरीले मोरङको रङ्गेलीबाट साढे तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलाका प्रहरी कार्यालय रङ्गेलीले गाँजासहित दुई जनालाई आइतबार पक्राउ गरेको हो ।

प्रहरीले रङ्गेली नगरपालिका–१ बबियाका मनोज राजवंशीको गाई गोठ, कुखुराको खोर र परालको माचभित्र लुकाएर राखेको अवस्थामा अन्दाजी ३ सय ५० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

१५ वटा बोरामा ‘प्याक’ गरेर लुकाएको अवस्थामा बरामद गरिएको गाँजा थप अनुसन्धानका लागि साँझ विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको  छ ।

गाँजा बरामद भएपछि अन्दाजी ४२ वर्षीय राजवंशीसहित धनकुटाको सहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय बेचन भनिने हस्त राईलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए । राईले प्रयोग गर्दै आएको प्रदेश १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी एसपी कोइरालाले दिए । पक्राउ परेकाविरुद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने प्रहरीको तयारी छ ।