धरान । एनसेल एजियाटा कम्पनीले वितरण गर्दै आएको एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीले जितेकी छन् ।

काठमाडौँमा शुक्रबार सम्पन्न इन्फोडेभलपर्स आइसिटी अवार्डको फाइनलमा कार्कीलाई अवार्ड वितरण गरिएको हो । नेपालको सूचना प्रविधिको क्षेत्रमा क्रियाशील महिलालाई यो अवार्ड दिइँदै आएको छ । यस वर्ष आइकन विजेता कार्कीलाई नगद ३ लाख रुपैयाँ नगद प्रदान गरेको छ ।

नेपाल सरकारका प्रमुख सचिव शङ्करदास वैरागी, काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल र एनसेलका प्रमुख मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले अवार्ड हस्तान्तरण गरे ।

विजेतालाई नेपाल टेलिकमले एक वर्ष इन्टरनेट र हुवावेले क्वाउड सेवा पनि दिएको छ । एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलाहरूको योगदान र उत्प्रेरणा प्रदान गर्न अवार्ड दिँदै आएको छ ।

गतवर्ष नेपालकै पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधानले उक्त अवार्ड पाएकी थिइन् ।